पहिलोपटक गुड्यो उर्लाबारीबाट मधुमल्ला हुँदै पाँचथरको रविसम्म गाडी

पहिलोपटक गुड्यो उर्लाबारीबाट मधुमल्ला हुँदै पाँचथरको रविसम्म गाडी

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । उर्लाबारी, २६ असोज ।

मोरङको उर्लाबारीबाट मधुमल्ला हुँदै पाँचथरको रविसम्म पहिलो पटक गाडी चलेको छ । पूर्वी नेपालको समृद्धिसँग जोडिएको यो सडकमा बुधबार उर्लाबारीबाट को १ च ५४५७ नंको एम्बुलेन्स बिरामी बोकेर इलामको चुलाचुली गाउँपालिका–६ स्थित फुङ्नाम पुगेको हो । चालक सोही ठाउँका २२ वर्षीय नवीन श्रेष्ठले पहिलोपटक गाउँमा गाडी पुर्याएका हुन् ।

आफ्नै गाउँले २२ बर्से ठिटोले एम्बुलेन्स गाउँमा पुर्याउदा गर्वले छाती फुलाउदै गाउँलेले उनको भव्य स्वागत गरे । गाउँमा पहिलोपटक गाडी पुगेपछि स्थानीयवासीसँगै जनप्रतिनिधिले चालकलाई पैसा र फूलको माला लगाएर स्वागत एवं सम्मान गरेका थिए । प्रतापसिंह लामा स्मृति प्रतिष्ठान, मधुमल्लाद्वारा सञ्चालित एम्बुलेन्स लिएर चालक श्रेष्ठ गाउँ पुगेका हुन् । गाउँमा पहिलोपटक गाडी आइपुग्दा निक्कै खुशी लागेको चुलाचुली गाउँपालिका–६ का वडा सदस्य प्रकाशचन्द्र श्रेष्ठ बताउँछन् ।

श्रेष्ठले भने, “गाउँमा सडक नहुँदा यहाँका बिरामीलाई डोकोमा बोकेर तराईका अस्पतालसम्म पुर्याउनुपर्ने बाध्यता थियो तर अब गाउँमै गाडी आउन थालेपछि नयाँ जीवन नै शुरु भएजस्तो भएको छ ।” सडक निर्माणकार्य पूर्णरुपमा सम्पन्न नभएपनि गाडी सञ्चालन गर्ने अवस्था भने रहेको सडक निर्माण दबाव समितिका संयोजक एवं स्थानीय समाजसेवी मानबहादुर श्रेष्ठले बताए ।

उनका अनुसार सो सडकखण्डको सिस्ने र तिनचुले भन्ने स्थानको सडक घुम्ती अझै मर्मत गर्नुपर्ने अवस्था छ । गाउँमा गाडी पुगेपछि अब गाउँमा उत्पादित कृषिजन्य वस्तु तराईका बजारसम्म आउने भन्दै स्थानीयवासी हर्षित भएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपक श्रेष्ठ बताउँछन् ।

विसं २०२८ मा तत्कालीन शिक्षामन्त्री नगेन्द्र प्रधानले सो सडक निर्माणको शिलन्यास गरेका थिए । उर्लाबारी–मधुमल्ला–रवि सडकखण्ड तराईलाई पूर्वी पहाडसँग जोड्ने सबैभन्दा छोटो द्रुत मार्ग जम्मा ५२ किलोमिटर मात्र छ ।

अनेकौँ विवाद र लामो समयपछि सो सडकखण्डमा यातायातका साधन सञ्चालन हुन थालेपछि पहाडी जिल्ला इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङका बासिन्दालाई तराई झर्न सहज भएको छ ।

यो सडकखण्डमा गत जेठदेखि नै मोटरसाइकल सञ्चालन हुन थाले पनि गाडी भने बुधबार मात्र पहिलोपटक सञ्चालन भएको हो । तराईबाट एउटा पनि पुल निर्माण नगरी सहजै पहाडी जिल्लाको यात्रा गर्ने एकमात्र मार्ग भएकाले पूर्वी नेपालको समृद्धिका लागि निकै सहयोग पुर्याउने मोरङको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले बताए ।

नेपाल सरकारको आर्थिक सहयोगमा निर्मित सो सडकखण्ड पाँचथर र इलामको सिमाना राँके हुँदै मेची राजमार्गसँग पनि जोडिनेछ ।

Logo