हत्या गरिएका गौचनलाई सहिद घोषणा गर्न माग

हत्या गरिएका गौचनलाई सहिद घोषणा गर्न माग

केन्द्रबिन्दु
0
Shares

एसके बैश्य । काठमाडौँ, २५ असोज ।

नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना अध्यक्ष शरद गौचनको सोमबार भएको हत्याको विरोधमा आज बिहान सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोधका क्रममा बिजुली बजारदेखि नयाँ बानेश्वर चोकसम्म प्रदर्शन गर्दै र्याली निकालिएको हो । विरोध प्रदर्शनमा सरकार विरुद्ध नारा लगाइएको थियो ।

प्रदर्शनमा महासंघका महासचिव रामशरण देउजाले हत्यामा ज्यान गुमाएका अध्यक्ष गौचनलाई सरकारले सहिद घोषणा गर्नुपर्ने बताए ।

महासचिव देउजाले हत्यारालाई तत्काल पक्राउ गरी कडा करवाही गरिनुपर्ने, देशभर रहेका अधिकांश निर्माण व्यवसायीलाई धम्कीपूर्ण फोन आइरहेकाले सुरक्षाको प्रत्याभूति गर्नुपर्ने तथा स्वर्गीय अध्यक्ष गौचनलाई सहिद घोषणा गर्नुपर्ने माग रहेको बताए । उनले आफूहरुको माग पूरा नभएसम्म विरोधका थप कार्यक्रमहरू गर्दै लैजाने बताए । बिरोध कार्यक्रम अन्तर्गत देउजाका अनुसार भोलि उपत्यकाका मनोहरा पुल, थापाथली पुल र अर्को एक स्थानमा १ घण्टे चक्का जामको कार्यक्रमसमेत रहेको छ ।

‘काठमाडौंमा सोमबार दिउँसै भएको हत्याको घटनालाई सरकारले गम्भीर रूपमा लिएको पाइएन,’ देउजाले भने, ‘घटना भएको ४६ घण्टा बिती सक्दा पनि प्रहरीले अपराधी पक्राउ गर्न नसकेकोले हामी न्यायका लागि विरोध र्यालीमा निस्किएका हौ ।’ ।

महासंघका महासचिव देउजाले ‘यो निजी क्षेत्रमाथि बढेको असुरक्षाको प्रतिनिधित्व गर्ने घटना मात्र हो । उनले यस्तो असुरक्षाको स्थितिमा निर्माण व्यवसायीहरूले काम गर्न नसक्ने बताए । देउजाले सुरक्षाको प्रत्याभूति नभएसम्म निर्माणका सबै काम रोक्ने निर्णयमा पुगेको पनि बताएका छन् ।

 

Logo