अवैध बिट क्वाइनका कारोबारी, एक महिलासहित ७ पक्राउ

अवैध बिट क्वाइनका कारोबारी, एक महिलासहित ७ पक्राउ

केन्द्रबिन्दु
0
Shares

एसके बैश्य । काठमाडौं, २० असोज ।

लामो समयदेखि बिट क्वाइनको अवैध कारोबार गर्दै आइरहेको एक महिला सहित सातजनाको गिरोहलाई केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले साउन अन्तिम साता परिपत्र नै जारी गर्दै क्रिप्टोकरेन्सी अन्तरगत रहेको डिजिटल मुद्रा बिटक्वाइन कारोबारलाई अवैध ठहर गरेको थियो ।

सरकारले यस्तो डिजिटल मुद्राका रूपमा हुने क्रिप्टोकरेन्सीको कारोबार पूर्ण रूपमा गैरकानुनी घोषणा गर्दा पनि क्रिप्टोकरेन्सीमा लागेका केही गिरोह इन्टरनेटको प्रयोग गरी नेटवर्किङ बिजनेसका रूपमा यसको कारोबार चलाउँदै आएका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरोले नेपालमा गैरकानुनी घोषणा गरिएको क्रिप्टोकरेन्सीको कारोबारविरुद्ध दशैँ बिदाको बेलामा पनि विशेष अभियान संचालन गरी उक्त ७ जनाको गिरोहलाई विभिन्न मितिमा पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए ।

प्रहरीले उनीहरूबाट बिटक्वाइन खरिद बिक्रीका निम्ति प्रयोग भएका मोबाइल तथा ल्यापटप समेत बरामद गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुली कल्पवृक्ष–४ घर भई हाल काठमाडौ महानगरपालिका बानेश्वर–३४ बस्ने ३८ वर्षी ज्ञानप्रसाद पौडेल, अर्घाखाँची खन–७ घर भई हाल काठमाडौ महानगरपालिका बानेश्वर–३४ बस्ने ३४ वर्षीय माधव खनाल, काठमाडौं–३४ हाल काठमाडौ महानगरपालिका–४ भाटभटेनी बस्ने २५ वर्षीय प्रशान्त प्रताप शाह, नुवाकोट वेलकोट–५ टी–गाउँ घर भई हाल काठमाडौ महानगरपालिका कलंकी बस्ने २४ वर्षीया बिन्दा ढकाल, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–७ घर भएका ४४ वर्षीय मिङमार तामाङ, काठमाडौ महानगरपालिका–९ घर भई हाल ललितपुर हरिसिद्दी बस्ने ४८ वर्षीय दमन बस्नेत र रुपन्देही उपमहानगरपालिका–११ घर भएका मनीष कुमार गिरी छन् ।

पक्राउ परेकामध्ये दुईजना केही वर्ष अगाडि बन्द भएको हर्बो नेटवर्किङ बिजनेसमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई आज शुक्रबारै काठमाडौं जिल्ला अदालतमा पेस गरी थप अनुसन्धानका लागि पहिलोपटक म्याद थप गराइएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

अनुसन्धानको क्रममा उनीहरू दोषी ठहरिएमा दण्ड सजायको नियमानुसार नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम बिगो जफत गरी बिगोको ३ गुणा जरिवाना वा ३ वर्ष कैद वा दुवै सजाय हुने केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख डिआइजी पुष्कर कार्कीले बताए ।

अनुसन्धानका लागि पक्राउ गरिएका सबैलाई केन्द्रीय अनुसन्धान ब्युरोको हिरासत कक्षमा राखिएको छ ।

बिट क्वाइनको कारोबारमा न कुनै बैंक वा मध्यस्थकर्ताको आवश्यकता पर्छ न त कारोबार गर्ने व्यक्तिले आफ्नो पहिचान खुलाउनु पर्छ । यसको साथै कारोबारमा न कुनै सेवा शुल्क तिर्नु पर्छ न त सरकारलाई कर बुझाउनु पर्छ । त्यसैले व्यक्तिहरूको आकर्षण बिट क्वाइन कारोबारतिर गएको देखिन्छ ।

के हो बिट क्वाइन ?

बिट क्वाइन एक किसिमको ’भर्चुअल’ मुद्रा हो । यो भर्चुअल अर्थात् अनलाइन मुद्रा हो । तर, बिट क्वाइनलाई वास्तविक नगद मुद्रा हालेर किन्नुपर्छ । कुनै भौतिक अस्तित्व नभए पनि यसको मूल्य सेयर बजारको जस्तै निरन्तर घटबढ हुने गरेको छ । लगानीकर्ताले सेयर बजारमा जस्तै मूल्य बढ्ने अपेक्षामा बिट क्वाइनमा लगानी गर्ने गरेका छन् ।

तस्बिरहरूमा देखिने बिट क्वाइनको सिक्का भौतिक मुद्राको सिक्काजस्तो होइन । त्यो सिक्काभित्र एउटा निजी कोड हुन्छ, त्यो कोडकै आधारमा बिट क्वाइन चल्ने हो । यदि त्यो कोड भएन भने बिट क्वाइनको कुनै अर्थ नहुने बिट क्वाइन कारोबारीहरू बताउँछन् । ।

 

Logo