हात्तीको आतंकले रातभरि जाग्राम

हात्तीको आतंकले रातभरि जाग्राम

केन्द्रबिन्दु
0
Shares

एसके बैश्य/काठमाडौं, १७ असोज ।

दिन दिनै बस्तीमा छिर्ने हात्तीले बर्दिया राष्ट्रिय निकुञ्जको आसपासका क्षेत्रमा रहेका गाउँमा रातभरि मानिसहरू जाग्रम बस्ने गरेका छन् । साँझ ६ बज्ने बित्तिकै बस्तीमा छिर्ने हात्तीका कारण स्थानीय बासिन्दा रातभरि राम्रोसँग सुत्न सकेका छैनन् ।

बर्दिया ठाकुरबाबा नगरपालिका–६ का कालुराम थारु रातीको समयमा चयनले सुत्न पाउँदैनन । दिनभरि काममा थाकेर आराम गर्नका लागि घर आउने कालुरामको आराम गर्ने सपना करिब २ महिनादेखि पूरा भएको छैन । कारण एउटै हो, जङ्गली हात्तीको आतंक ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट २ महिना यतादेखि दैनिक रूपमा साँझको समयमा निस्कने हात्तीको आतङ्कले उनी हैरान मात्र नभई आजित भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रका लागि उनी एक उदाहरणका पात्र मात्र हुन । उनी जस्तै प्रातापुर, मनकापुर, कतर्निया, भाटेरा शान्तिपुर पत्थरभौजी र बनखेत क्षेत्रका स्थानीयवासी दिनभरि काम गरेर आउने र राति आराम गर्ने बेलामा हात्ती धपाउनुपर्ने बाध्यता छ ।

जङ्गली जनावरको आतङ्क र आक्रमणको त्रासका कारण रातभर जाग्राम बस्नुपरेको सो क्षेत्रका स्थानीय बासिन्दाहरू बताउँछन् । हात्तीले आएर घरमा तोडफोड गर्नुका साथै स्थानीयवासीको बाली र मौका परेको बेला मानवीय क्षतिसमेत गर्ने भएका कारण आफूहरू रातभर जाग्राम बस्न बाध्य भएको वन्यजन्तु चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्यले बताए ।

निकुञ्जबाट प्रत्येक दिन रातीको समयमा तीन-चार वटाको समूहमा निस्कने जङ्गली जनावरका कारण स्थानीयवासी जङ्गली जनावर धपाउन र वन्यजन्तुको आक्रमणबाट जोगिन रातभर जाग्राम बस्न बाध्य भएका छन् ।

हात्तीको खतराबाट बचाउन निकुञ्जद्वारा टोली नै परिचान गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए । थापाले भने, ‘२ महिना यता राम्रोसँग सुत्न पाएको छैन । हात्ती खतरा भएको ठाउँबाट फोन आउन साथ टोलीसहित जानुपर्ने हुन्छ ।’

नेपालमा संरक्षित क्षेत्रमध्ये सबैभन्दा बढी हात्ती बर्दिया राष्ट्रिय निकुञ्जमा छन् । यहाँ भएका हात्तीमध्ये समस्याग्रस्त र बस्ती पस्ने करिब एक दर्जन हात्ती रहेको निकुञ्जले जनाएको छ । गत वर्ष हात्तीको आक्रमणबाट पाँचजनाले ज्यान गुमाएको र सयौं बिगाहा बाली नष्ट भएको प्रमुख थापा बताउँछन् ।

मुख्यगरी बाली पाक्ने बेलामा बढी हात्ती आउने गरेका छन् । २-३ वर्ष यतादेखि हात्ती बस्तीमा आउने क्रम बढेको छ । यो आर्थिक वर्ष लागेपछि हात्तीले मानवीय क्षति नगरे पनि स्थानीयहरूलाई रातभर सुत्न दिएको छैन ।

मुख्यगरी निकुञ्जको पश्चिम सिमाना भएर बग्ने गेरुवा नदी (कर्णालीको पूर्वी भंगालो) को तटीय क्षेत्रका बस्तीमा बढी हात्ती पस्दै आएका छन् । यो वर्ष मात्रै वन्यजन्तु बस्तीमा जान नदिनका लागि २ करोड रुपैयाँको कार्यक्रम आएको छ । निकुञ्ज सिमानामा विद्युतीय तारबार लगाउने, टचलाइट वितरण गर्ने, कंक्रिट पर्खाल लगाउने काम भइसकेको निकुञ्जले जनाएको छ ।

तर हात्तीले रुखै भाँचेर तारबार भत्काउने र बस्ती छिर्ने गरेको कर्णाली जंगल क्याम्पका व्यवस्थापक तथा नेचर गाइड जगत रिजाल बताउँछन् । हात्ती बस्तीमा आउन छाड्यो भने केही स्थानीयहरूले तार काटेर लाने समस्या पनि छ । निकुञ्ज आसपासका स्थानीयहरू हात्ती धपाउन निकुञ्जका अधिकारीहरू सँगसँगै हिँड्छन् ।

‘स्थानीयको सहयोग ठूलो छ, गाउँका हरेक घरका मान्छे आउँछन्, हात्ती धपाउँछन्, पालैपालो राती सडकमै सुत्छन,’ प्रमुख संरक्षण अधिकृत थापाले बताए ।

 

Logo