नवलपुरका दुई हजार हेक्टर सामुदायिक वनमा डढेलो

नवलपुरका दुई हजार हेक्टर सामुदायिक वनमा डढेलो

केन्द्रबिन्दु
0
Shares

नवलपुरका विभिन्न सामुदायिक वनमा लागेको डढेलोका कारण करीब दुई हजार हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालय नवलपुरले जनाएको छ । जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा अहिले पनि डढेलो लागेको भन्ने सूचना आइरहेकाले सो वनको क्षेत्रफल बढ्न सक्ने डिभिजन वन कार्यालयका सूचना अधिकारी शिव श्रेष्ठले बताए । 

गत वर्ष नवलपुरमा ६०० हेक्टर क्षेत्रफलमा डढेलो लागेकामा यो समय चैतको दोस्रो हप्ताभित्र नै दुई हजार हेक्टर बढी क्षेत्रफलमा डढेलो लागेको उनले बताए । नवलपुरको राजमार्ग क्षेत्रका सामुदायिक वनमा धेरै डढेलो लागेको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार राजमार्ग आसपासका क्षेत्रमा चुरोट खाएर फालिदिने गर्दा आगलागी हुने गरेको हो । यस्तै सामुदायिक वनसँग विभिन्न कारणले मनमुटाव रहेका व्यक्तिले रिसले समेत आगो लगाएको पाइएको छ भने वन्यजन्तुको शिकार गर्न तथा वनमा आगो लगाएपछि च्याउ राम्रो आउँछ भनेर पनि आगो लगाउने गरेको उनको भनाइ छ । 
    
पहिलेपहिले खोरीया फाँड्न वनमा आगो लगाउने चलन भए पनि नवलपुरमा अहिले भने यस्तो नरहेको श्रेष्ठले बताए । नवलपुरमा करीब ७० हजार ४०० हेक्टर क्षेत्रफलमा वन क्षेत्र रहेको छ । नवलपुरमा २०८ वटा सामुदायिक वन, १५३ वटा कबुलियती वन, आठ वटा धार्मिक वन, साझेदारी र चक्ला वन एक÷एक वटा रहेका छन् । अहिले धेरैजसो वनमा डढेलो लागेको छ । पहाडी क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न मुस्किल देखिएको छ । अप्ठ्यारो स्थानमा लागेको आगो निभाउन असम्भव जस्तै देखिएकाले तत्काल नियन्त्रणमा आउन सक्ने सम्भावना देखिएको छैन । 

सामुदायिक वन क्षेत्रमा लागेको आगो नियन्त्रणका लागि वन समूहले प्रयास गरे पनि डढेलोबाट वन जोगाउन भने सकेका छैनन् । अघिल्ला वर्षमा भन्दा यस वर्ष यहाँका सामुदायिक वनले डढेलो नियन्त्रणका लागि प्रभावकारीरुपमा काम नगरेको देखिएको छ । वैज्ञानिक वन व्यवस्थापन प्रणाली खारेजी, काठ दाउरा उपभोगमा लामो समय गरिएको प्रतिबन्धका कारण उपभोक्तामा नैराश्यता देखिएको वैज्ञानिक वन सञ्जाल नवलपुरका अध्यक्ष मधुविलास अधिकारीले बताए । 

यसै कारणले समेत संरक्षणमा उपभोक्ताको चासो कम भएको अनुमान गरिएको छ । जिल्लाका विभिन्न वन क्षेत्रमा लागेको डढेलोले आकाशमा धुवाँले ढाक्दा आँखा पोल्ने समस्या समेत देखिएको छ । धुवाँका कारण आँखा पोल्ने, श्वासप्रश्वासमा समेत समस्या उत्पन्न हुन सक्ने मध्यबिन्दु जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीले बताउँछन् । आँखाको सुरक्षाका लागि चस्मा प्रयोग गर्ने, बेलाबेलामा चिसोपानीले आँखा धुने र श्वासप्रश्वासमा समस्या हुन नदिन मास्क लगाउने जस्ता उपाय अपनाउन सकिने उनको भनाइ छ । रासस

Logo