देउकीको विरोध, देउकेटा प्रथा कायमै

देउकीको विरोध, देउकेटा प्रथा कायमै

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिममा देउकी र काठमाडौँ उपत्यकामा जीवित देवीकुमारीको चर्चा भइरहन्छ । त्यहाँ मन्दिरमा पूजारीको रूपमा कुमारी छन् भने दैलेखको एक मन्दिरमा कुमार । कर्णाली राजमार्गमा पर्ने दैलेखको तल्लो डुङ्गेश्वरस्थित पञ्चेश्वर शिव महादेव मन्दिरमा पुर्खौँदेखि नाबालकले पूजापाठ गर्ने प्रचलन रहेको छ । हाल यस मन्दिरमा सात वर्षीय सुवासदेव गिरी पुजारी (देउकेटा) छन् ।

तल्लो डुङ्गेश्वर बजार नजिकको मन्दिरमा सुवास गतवर्ष मङ्सिरदेखि पुजारी नियुक्त भएका हुन्। त्यसअघि उनका साहिला दाजु जीवनदेव पूजारी थिए । जीवनदेवको उमेर १६ वर्ष पुगेपछि उत्तराधिकारीको रूपमा पूजारीमा सुवास मन्दिर प्रवेश गरेका हुन्। 

सुवासले मन्दिरमा दैनिक पूजापाठ गर्ने, दर्शनार्थीलाई टीका लगाइ आर्शिवाद दिँदै आएका छन्। भन्छन्, ‘पूजापाठका सबै काम सिक्दैछु, बुवा दाईले सिकाउनुहुन्छ।’

शिव महादेव मन्दिरमा कुमार केटालाई मन्दिरमा चढाएर मात्र पुजारीको मान्यता दिने चलन छ, जसलाई स्थानीय भाषामा ‘देउकेटा’ अर्थात् ‘देउतालाई चढाएको केटा’ भनिन्छ । देउतालाई चढाएको केटाले पूजापाठ मात्र होइन, मन्दिरमै बास बस्छन् । 

पूर्व ‘देउकेटा’ जीवनदेवले वर्षौँदेखि चलिआएको संस्कार भएकाले आफूहरूले निरन्तरता दिँदै आएको बताए । ‘आफँैले पकाएको खानुपर्छ, अरु जस्तो मन लागि हिँडडुल गर्न पाइँदैन,’ उनले भने, ‘स्कूलमा गएर पनि अलग्गै बस्नुपर्छ, महिनावारी भएकालाई छुन हुँदैन ।’

 सुवास हाल महादेव मावि कक्षा तीनमा अध्ययनरत छन्। खड्गदेवका छोरा प्रेमदेव, चन्द्रदेव र जीवनदेवपछि सुवासदेव ‘देउकेटा’ का रूपमा भित्रिएका हुन् । खड्गदेव पनि ११ वर्षको उमेरमा देउकेटा भएका थिए। ‘देउकेटा’ ले १६ वर्ष पार नगरुञ्जेलसम्म पुजारी बन्नुपर्छ । त्यसअघि नै बिहे भयो भने पनि मन्दिरबाट बाहिरिनुपर्छ । देउकी प्रथाको विरोध हुँदै आएकोमा देउकेटा प्रथा जारी छ। रासस

Logo