जस्तापाताले टलक्क टल्किए वालिङका २५६ घर

जस्तापाताले टलक्क टल्किए वालिङका २५६ घर

केन्द्रबिन्दु
0
Shares

स्याङ्जाको वालिङ नगरपालिकाले हालसम्म २५६ खरका छाना विस्थापित गरी जस्तापाता लगाइदिएको छ । वालिङ नगरपालिका तथा सङ्घीय आयोजना कार्यान्वयन एकाई अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रममार्फत खरका छाना विस्थापित गरी जस्तापाता लगाइएको हो ।

स्वास्थ्यका दृष्टिले जस्तापाता भन्दा खरको छानो उपयुक्त हुँदाहुँदै पनि आगलागीको सम्भावना तथा छाना छाउने दक्ष कामदारको अभावका कारण जस्तापाता लगाइएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।

खाँणले भने, ‘खरका छाना भएका नागरिकलाई समाजमा हेर्ने प्रवृत्ति पनि फरक हुने गरेकाले उहाँहरुको मागका आधारमा जस्तापाता लगाइदिँदै आएका छौं।’

वालिङ नगरपालिकामा हालसम्म खरको छाना विस्थापनका लागि ४३१ घरले आवेदन दिएको नगर प्रमुखको सचिवालयका सचिव छवि आलेले जनाए। जस्तापाताका लागि दुई किस्तामा गरी लाभग्राहीलाई ५० हजार उपलब्ध गराइन्छ। रासस

Logo