काठमाडाैंकाे रैथाने समस्या बन्याे फाेहाेर व्यवस्थापन, सिसडोल भरिएपछि चाेक चाेकमा थुप्रियाे

काठमाडाैंकाे रैथाने समस्या बन्याे फाेहाेर व्यवस्थापन, सिसडोल भरिएपछि चाेक चाेकमा थुप्रियाे

केन्द्रबिन्दु
0
Shares

लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहाेर व्यवस्थापन हुँदै आएको सिसडोल भरिएपछि पुनः समस्या भएको छ। गत सोमबार नै काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै एक हप्ता फोहाेर घरबाहिर ननिकाल्न नागरिकलाई आग्रह गरेको थियो। 

महानगरपालिकाका अनुसार निरन्तर पानी परिरहेकाले अझै केही दिन फोहाेर व्यवस्थापनमा समस्या हुन सक्नेछ। “विगत चार दिनदेखि साविकझै फोहाेर उठ्न सकेको छैन, वर्षाको समय भएकाले अन्य समयमा भन्दा बढी फोहाेर उत्पादन हुने गर्दछ, सकेसम्म कम फोहाेर निकाल्ले र त्यसलाई बाहिर सडकमा नभई घरमा नै व्यवस्थापन गर्न नागरिकलाई अनुरोध गर्दछु”, महानगरका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले भने। 

उनका अनुसार सिसडोल भरिएको र तत्कालका लागि केही व्यवस्थापन गर्ने प्रयास भइरहेको भए पनि अझै केही दिन लाग्छ। निरन्तर पानी परिरहँदा सिसडोलमा रहेको फोहाेरको थुप्रो व्यवस्थापन गर्न केही असहज भएको उनले बताए। महानगरले केन्द्र सरकारसँग छिटोभन्दा छिटो दीर्घकालीन रुपमा फोहाेर व्यवस्थापन गर्ने स्थान बञ्चरेडाँडा निर्माण गरेर सिसडोलको विकल्प दिन आग्रह गरेको छ। 

सामान्य समयमा हरेक दिन २०० गाडीले फोहाेर व्यवस्थापन गर्दै आएका थिए। अहिले ५० गाडी पनि जान समस्या रहेको प्रमुख श्रेष्ठले जानकारी दिए। एकातिर सिसडोल भरिएको छ भने अर्कातिर ल्याण्डफिल साइट जाने सडक केही दिनदेखि परेको अविरल वर्षाका कारणले बिग्रेकाले मर्मतका लागि केही दिन लाग्ने महानगरले जनाएको छ।

यसरी निरन्तर फोहाेर नउठ्दा काठमाडौँका सडक किनारामा  जताततै फोहर हुँदा दुगन्ध फैलिएको छ। महानगरले दुई वर्षका लागि भन्दै विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर नुवाकोटको ककनी गाउँपालिका–२ स्थित सिसडोलमा रहेको ल्याण्डफिल साइटमा विसर्जन गर्दै आएको छ।  

हाल फोहाेर विसर्जन भएको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न ०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभि (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो। बञ्चरेडाँडामा दीर्घकालीन फोहाेर व्यवस्थापनस्थल निर्माणको काम समयमा नै नसकिँदा पनि समय–समयमा फोहर व्यवस्थापनमा समस्या आइरहेको छ।रासस

Logo