कोरोना संक्रमित थपिएसँगै अस्पतालका वेडहरु भरिए

कोरोना संक्रमित थपिएसँगै अस्पतालका वेडहरु भरिए

केन्द्रबिन्दु
0
Shares

वीर अस्पतालका निर्देशक डा. प्राध्यापक भूपेन्द्र बस्नेतले पछिल्लो केही दिन यता कोरोना भाइरसका बिरामीहरु बढ्दै गएकोले अस्पतालमा बेडहरु भरिन थालेको बताएका छन्।

कोरोनाको तेस्रो लहरको तयारीको छलफलका लागि मंगलवार सिंहदरवारमा बसेको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको बैठकमा निर्देशक बस्नेतले अस्पतालहरुमा कोरोना संक्रमितहरु बढीरहेकाले बेडहरु भरिन थालेको बताएका हुन्। उनले अस्पतालका आइसीयू र सघन उपचार कक्षहरु कोरोना संक्रमितले बढी भरिएको बताए। 

कोरोनाको तेस्रो लहरबाट बच्नका लागि वीर अस्पतालले ४५ वटा कोभिड डेडिकेट आइसीयू सञ्चालन गरिरहेको र अन्य २० वटा आइसीयूहरु १/२ दिनमै चलाउने बताए। उनले कोरोनाबाट बचाउनका लागि अन्य आवश्यक कुराहरु थप्दै जाने बताए।

उनले भने, “कोरोनाको केस बढ्दै जाँदा अस्पतालका बेडहरु भरिन थालेको छ, संक्रमित बढ्न थालेका छन्, अस्पतालका आइसीयू र सघन उपचार कक्षहरु बढी भरिएका छन्। वीर अस्पतालमा हाल ४५ वटा कोभिड डेडिकेट आइसीयूहरु छ, त्यस्तै अरु २० वटा आइसीयू १/२ दिनभित्रै चल्ने गरी निर्माण भइरहेको छ, सबै जडान भइसकेको छ।”

निर्देशक बस्नेतले तेस्रो लहरको कोरोनाबाट बच्नका लागि सरकारले काठमाडौं उपत्यकामा १४ वटा र हरेक प्रदेशमा १/१ गरी २१ वटा अस्पताल छुट्याएको बताए।

उनले भने, “कोभिड १९ हेर्नका लागि सरकारले काठमाडौंमा वीर अस्पतालसहित १४ वटा अस्पताल छुट्याएको छ, त्यस्तै हरेक प्रदेशका १/१ वटा गरी ७ वटा अस्पताल छुट्याएको छ, आवश्यक परे निजी अस्पतालहरुसँग पनि समन्वय गरेर काम अघि बढाइनेछ।”

निर्देशक बस्नेतले कोरोना संक्रमितको संख्या बढ्दै गइरहेकोले आवश्यकतालाई हेरेर निजी अस्पतालहरुसँग समन्वय गर्दै काम अघि बढाउने बताए। 

Logo