बाँकेका पाँच स्थानीय तहमा बालविवाह मुक्त घोषणा

बाँकेका पाँच स्थानीय तहमा बालविवाह मुक्त घोषणा

केन्द्रबिन्दु
0
Shares

बाँके जिल्लाका पाँच स्थानीय तहका १२ वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । 

स्थानीय तहले वडास्तरमा  सञ्चालन गरेको बालविवाहविरुद्धका अभियानमा स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजनामार्फत साझेदारी गर्दै आएको छ ।

परियोजनाको सहयोगमा जिल्लामा हालसम्म पाँच स्थानीय तहका १२ वडा बालविवाह मुक्त घोषणा भइसकेको संस्थाका अध्यक्ष शिवलाल पाण्डेले जानकारी दिए । उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका चार वडा, कोहलपुर नगरपालिकाका तीन वडा, जानकीको तीन वडा र खजुरा र बैजनाथ  गाउँपालिकाका एक\एक वटा वडा गरी हालसम्म १२ बालविवाह मुक्त घोषणा भइसकेका छन् । कोहलपुर नगरपालिकाको वडा नं ३ र वैजनाथ गाउँपालिकाको वडा नं ५ मा बालविवाहमुक्त घोषणा गर्ने तयारी भएको छ ।

पछिल्लोपटक शनिबारमात्रै जानकी गाउँपालिकाको वडा नं २ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो । गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले चाँडै जिल्लाकै पहिलो बालविवाह मुक्त स्थानीय तहका रूपमा जानकीलाई घोषणा गर्ने प्रतिबद्धता जनाए ।  

बाँकेका आठ स्थानीय तहमध्ये राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकामा भने बालविवाहविरुद्धको अभियान प्रभावकारी हुन सकेको छैन । वडालाई बालविवाह मुक्त घोषणा गर्न स्थानीय तहमा बालअधिकार समिति गठनसम्बन्धी कार्यविधि, बालविवाह अन्त्यसम्बन्धी रणनीति, बाल संरक्षण नीति र पालिका बालअधिकार संरक्षण समिति तथा विद्यालय र वडास्तरमा बालअधिकार समिति क्रियाशील रहेको छ ।

बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका अनुसार वडामा २० प्रतिशतभन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान रहेको स्याकका अध्यक्ष पाण्डेले जानकारी दिए । 

विसं २०६८ को जनगणना अनुसारमा बाँकेमा ६६.०८ प्रतिशत बालविवाह रहेको छ । रासस

Logo