कार्टुन टिप्ने मान्छेदेखि होशियार !

कार्टुन टिप्ने मान्छेदेखि होशियार !

केन्द्रबिन्दु
0
Shares

कार्टुनका टुक्राटुक्री टिप्दै हिँड्ने मान्छे नदेख्ने कमै होलान्। किनभने, शहरका गल्ली गल्लीमा कार्टुन टिप्नेहरू दिनहुँजसो भेटिन्छन्।

जम्मा गरेका कार्टुनलाई चाङ लगाएर साइकलमा डोर्याउँदै लान्छन्। तर, यसरी कार्टुन टिप्नेले कार्टुन मात्रै होइन, घरमा कोही नभएको मौकामा जे भेट्यो त्यही टिप्छन् पनि। अर्थात् चोरी गर्छन्।

यसरी कार्टुन टिपेर हिँड्ने बहानामा चोरी गर्ने एक युवकलाई महानगरीय अपराध महाशाखा मिनभवनले पक्राउ गरेको छ।
पक्राउ परेका युवक हुन्–‘झोंक्की’। उनको पूरा नाम भने कुमार तोलाङे रहेको खुलेको छ। उनी महोत्तरीको बर्दिबास–८ रातोखोलाका हुन्।

महाशाखाका प्रहरी उपरीक्षक तथा प्रवक्ता कृष्णप्रसाद कोइरालाले ३० वर्षीय तोलाङे भक्तपुरको बुढाथोकी गाउँका नरेन्द्रराज सिजापतिको घरमा भएको चोरी घटनामा पक्राउ परेका हुन्।

अनुसन्धानको क्रममा उनले कार्टुन टिप्ने बहाना गर्दै कोही नभएको बेला सिजापतिको घरमा पसेर एक लाख ८५ हजार ५ सय बराबरको धनमाल चोरी गरेको पाइएको छ।

कोइरालाका अनुसार तोलाङेले सिजापतिको नगद, मोबाइललगायत सामग्री चोरेका हुन्।

चोरेको भने गत जेठ १ गते राती हो। महाशाखाबाट खटिएको विशेष टोलीले तोलाङेलाई काठमाडौंको बालकुमारी पुलबाट मंगलबार पक्राउ गरेको हो।

उनै तोलाङेबाट प्रहरीले २ थान ल्यापटप र एउटा भिभो मोबाइल पनि बरामद गरेको छ।

बरामद गरिएका ल्यापटप र मोबाइल पनि चोरीकै रहेको प्रवक्ता कोइरालाले बताए। तर, ती सामानहरू कसको भन्ने खुलेको छैन। प्रहरीले पीडितलाई सम्पर्क गर्न पनि आग्रह गरेको छ।

प्रहरीको अपराध अभिलेखअनुसार उनी २०७२ मा बिजुलीको तार चोरी मुद्दामा कैद भुक्तान गरी २०७५ मा छुटेको देखिएको छ।

Logo