जिपी कोइराला उपचार केन्द्रमा मझौला शल्यक्रिया सुरु, काठमाडौं जानु पर्ने बाध्यता हट्यो

जिपी कोइराला उपचार केन्द्रमा मझौला शल्यक्रिया सुरु, काठमाडौं जानु पर्ने बाध्यता हट्यो

केन्द्रबिन्दु
0
Shares

तनहुँको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले मझौला शल्यक्रिया सुरु गरेको छ। शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको अस्पतालले बुधबार पहिलोपटक मलद्वार च्यातिएको सफल शल्यक्रिया गर्दै मझौला शल्यक्रियाको सुरुवात गरेको हो।  

एनेस्थेसियोलोजिस्ट डा. रमेश घिमिरे र सर्जन डा. परिवर्तन बराल नेतृत्वको टोलीले ६७ वर्षीया महिलाको मलद्वार च्यातिएको सफल शल्यक्रिया गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताए। एक घण्टा समय लगाएर उक्त शल्यक्रिया गरिएको थियो।

यस्तै, बुधबार नै हार्डजोर्नीको पनि शल्यक्रिया गरिएको श्रेष्ठले जानकारी दिए। अर्थोपेडिक सर्जन डा. विद्याभुषण ताम्राकार नेतृत्वको टोलीले ५० वर्षीया महिलाको हाडजोर्नीको सफल शल्यक्रिया भएको उनले बताए। लडेर हात भाँच्चिएकी उनको शल्यक्रिया गरिएको हो। 

अब अस्पतालले मझौला शल्यक्रियालाई निरन्तरता दिने श्रेष्ठले बताए। ‘शल्यक्रिया सेवा सुरु गर्ने तयारी पहिलेदेखि नै गरेका हौँ। कोरोनाका कारण ढिलाइ भयो। ठूला शल्यक्रिया पनि छिट्टै सुरु गर्दैछौँ’, डा.श्रेष्ठले भने, ‘ठूला शल्यक्रिया सुरु गर्नलाई पूर्वाधार तयार हुँदैछ।’

मझौला शल्यक्रियाका सेवा सुरु भएपछि तनहुँ, स्याङ्जा, पाल्पा, नवलपुरका विभिन्न भेगका बिरामी पोखरा, चितवन र काठमाडौँका अस्पताल जानुपर्ने बाध्यता भने अन्त्य भएको छ। 

अस्पतालले १० बेडको आईसीयू र २५ बेडको एचडीयू कक्ष सञ्चालनको तयारीसमेत गरिरहेको छ। ७० बेड क्षमतामा सञ्चालित अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न ३० बेड क्षमताको छुट्टै आइसोलेशन कक्ष छ। जिल्लाका १० वटै स्थानीय तहले संयुक्त लगानीमा निर्माण गरेको आइसोलेसन भवनमा अक्सिजनसहितको सेवा प्रदान भइरहेको छ। 

एक सय बेडको अनुमति भएको संघीय सरकार मातहातको यो अस्पतालले भवन अभावमा पुरै क्षमतामा सञ्चालन गर्न सकेको छैन। श्वासप्रश्वास उपचारको विशेष अस्पताल बनाउने भनिए पनि यहाँ श्वासप्रश्वाससम्बन्धी रोगको उपचार सेवा पनि सुरु भएको छैन। 

दैनिक एक सय ५० जना अस्पतालमा सेवा लिन आउने गरेका छन्।  तीमध्ये एक सय जनाभन्दा बढी स्वास्थ्य बिमा गरेका बिरामी हुन्छन्।  

माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेला सेती गंगा सामुदायिक अस्पताललाई जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बनाउने निर्णय भएको हो। समुदायबाट सञ्चालित हस्पिटल सरकार मातहात आए पनि अपेक्षित विकास हुन नसकेको स्थानीयहरु बताउँछन्।न्युज कारखानाबाट

तस्बिर: बुधबार जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा मलद्वार च्यातिएको शल्यक्रिया हुँदै। तस्बिर सौजन्य: अस्पताल प्रशासन

Logo