झापामा श्रृंखलाबद्ध आत्महत्या घटना, ज्यान गुमाउनेमा विवाहित पुरुष बढी

झापामा श्रृंखलाबद्ध आत्महत्या घटना, ज्यान गुमाउनेमा विवाहित पुरुष बढी

केन्द्रबिन्दु
0
Shares

घटना-१

कनकाई-१ सिर्जना टोलका रविन विक, उनकी श्रीमती मुना र आठ महिने नाबालिका रुविनासहित घरमै झुण्डिएको अवस्थामा फेला परे। आठ महिनाकी रुविनाको हत्या गर्दै बुवाआमाले पनि आफूले आफैंलाई मारे। कारण- ऋणमा डुब्नु। म्यानपावरहरूमा एजेन्टको काम गर्ने रविन आर्थिक रूपमा कमजोर भएपछि आत्महत्याको बाटो रोजेका थिए। रविनले आफूलाई मात्र मारेनन्, आठ महिनाकी निर्दोष छोरी मारे र श्रीमतीलाई पनि मर्न बाध्य बनाए।  

ऋण लागेपछि गत साउन अन्तिम साता वैदेशिक रोजगारीमा जान उनी काठमाडौं गए। साउदीका लागि भिसा लागेको थियो। विदेश उड्न कोरोना परीक्षण अनिवार्य छ। ३१ साउनमा काठमाडौंमा कोरोना परीक्षण गराए। रिपोर्ट आयो-पोजेटिभ । वैदेशिक रोजगारीको उनको यात्रा रोकियो।  

उनी घर फर्किए। विदेश गएर ऋण तिर्ने बाचा गरेका उनी घर फर्किएपछि साहुले च्याप्न थाले । पीर खप्न नसकेर सोमबार २९ वर्षीया श्रीमती मुना र आठ महिनाकी छोरी रुविनासहित घरमै झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परे। 

घटना-२ 

यही घटनाको भोलिपल्ट अर्थात् मंगलबार अर्जुनधारा-५ लक्ष्मीपुरका मानव होटल सञ्चालक ३८ वर्षीय राजेश महत झुण्डिएको अवस्थामा मृत भेटिए। नयाँ घरमा पानी हाल्न गएका उनी झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

यी आफूले आफैंलाई मार्नेको प्रतिनिधिमूलक घटना हुन्। पछिल्लो समय झापामा आत्महत्या गर्नेको संख्या बर्सेनि बढिरहेको छ। आर्थिक वर्ष ०७७/०७८ मा उपत्यकापछि सबैभन्दा धेरै आत्महत्या गर्नेको संख्या झापामा रहेको नेपाल प्रहरीको तथ्यांक छ। 

प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७७/०७८ मा काठमाडौंमा ३९१ जनाले आत्महत्या गर्दा झापामा ३३५ ले एक वर्षमा आत्महत्या गरेका छन्। यस्तै, चालु आर्थिक वर्षको साउनमा मात्र झापामा १६ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष ०७५/०७६ मा जिल्लामा २८८ जनाले आत्महत्या गरेका छन्। आर्थिक वर्ष ०७६/०७७ मा भने यो संख्या २३ प्रतिशतले घटेर २२३ मा आएको थियो। तर, आर्थिक वर्ष ०७७/०७८ मा भने ५० प्रतिशतले वृद्धि हुँदै आत्महत्या गर्नेको संख्या ३३५ पुगेको प्रहरी प्रवक्ता थापाले जानकारी दिए। 

१५ वटा स्थानीय तह रहेको झापामा आत्महत्या गर्नेको संख्या सबैभन्दा धेरै मेचीनगरमा रहेको प्रहरीले जनाएको छ। आर्थिक वर्ष ०७७/०७८ मा मेचीनगरमा ६२ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसारे ९३ प्रतिशतले झुण्डिएर आत्महत्या गर्ने गरेका छन् । ५ प्रतिशतले विष सेवन, एक/एक प्रतिशतले हामफालेर र हतियार प्रयोग गरी आत्महत्या गर्ने गरेको प्रहरीले जनाएको छ । 

यस्तै, आर्थिक वर्ष ०७६/०७७ मा आत्महत्या गर्नेमध्ये सबैभन्दा धेरै २६ प्रतिशत १८ देखि २५ वर्ष उमेर समूहका रहेको प्रवक्ता डिएसपी थापाले बताए। आर्थिक वर्ष ०७७/०७८ मा भने सबैभन्दा धेरै २२ प्रतिशत ४५ देखि ६० वर्ष उमेर समूहकाले आत्महत्या गरेको प्रहरीले जनाएको छ। आर्थिक वर्ष ०७६/०७७ मा आत्महत्या गर्नेमध्ये ५९ प्रतिशत पुरुष थिए। आर्थिक वर्ष ०७७/०७८ मा यो संख्या बढेर ६२ प्रतिशत पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार आफैँलाई मार्नेमा ७६ प्रतिशत विवाहित छन्। 

प्रहरीका अनुसार आत्महत्या गर्नेमध्ये धेरै ज्याला मजदुरी गरेर दैनिकी चलाउने रहेका छन्। आर्थिक वर्ष ०७६/०७७ मा आत्महत्या गर्ने मध्ये २९ मजदुर थिए भने आर्थिक वर्ष ०७७/०७८ मा यो बढेर ३० प्रतिशत पुगेको प्रहरीले जनाएको छ। 

आत्महत्या गर्नेको तथ्यांक विश्लेषण गर्दा सबैभन्दा धेरै साधारण लेखपढ गर्नेको संख्याा छ। आर्थिक वर्ष आर्थिक वर्ष ०७६/०७७ र ०७७/०७८ लाई तुलनात्मक रूपमा विश्लेषण गर्दा आत्महत्या गर्नेमध्ये ६९ प्रतिशत साधारण लेखपढ गर्न मात्र सक्ने रहेको थापाले जानकारी दिए। 

घरायसी समस्या, प्रेम सम्बन्ध, मानसिक विचलन, अत्याधिक मादक पदार्थ सेवन, आर्थिक लेनदेनलगायत कारणले आत्महत्या गर्ने गरेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए। ‘आत्महत्याको घटना विश्लेषण गर्दा घरायसी समस्याका कारण आत्महत्याका घटना धेरै भएका छन्,’ डिएसपी थापाले भने, ‘मानसिक विचालनका कारण आत्महत्या गरेका धेरैजसोले डिप्रेसन सम्बन्धी औषधि प्रयोग गरेको पाइएको छ। यो तथ्यांक हेर्दा आत्महत्याको कारण गरिबी र अशिक्षा हो भन्न सकिन्छ।’न्युज कारखानाबाट

Logo