सिसडोलवासीको बिरोधः काठमाडौंको फोहोर उठेन

सिसडोलवासीको बिरोधः काठमाडौंको फोहोर उठेन

केन्द्रबिन्दु
0
Shares

सिसडोल ओखरपौवाका स्थानीयले बिरोध जनाएपछि अहिले काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन । 

२ वर्षका लागि मात्रै काठमाडौंको फोहोर बिसर्जन गर्ने भनिएको सिसडोलमा १४ वर्ष पुगिसक्दा समेत फोहोर फालिँदै आएपछि त्यहाँका स्थानीयले बिरोध गरेका हुन् । 

स्थानीय परशुराम अर्यालका अनुसार ओखरपौवामा १४ वर्षसम्म फालिएको फोहोर व्यवस्थापन गर्न नसक्दा ठूला समस्या देखा पर्न थालेका छन् । फोहोरको पानी चुहिएर खोलामा जाने र त्यही पानी गाईवस्तुलाई खुवाउनु र बालीनालीमा लगाउनुपर्ने बाध्यताले विभिन्न रोगहरु पैदा भइरहेको छ । 

अर्यालले सरकारले जग्गा अधिकरण गरेर बस्ती हटाउने वा त्यहाँको फोहोर व्यवस्थापन गर्ने र अब बञ्चरे डाँडामा फोहोर लग्ने व्यवस्था नमिलाए निकट भविष्यमै ठूलो दुर्घटना निम्तिन सक्ने बताए।

काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले सिसडोलमा फोहोर फाल्न अब नसकिने भन्दै सबै निकायले छिटोभन्दा छिटो आफ्नो काम गरेर बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने बताउँछन् । 

प्रमुख श्रेष्ठले सिसडोलका स्थानीयको मागलाई सम्बोधन गर्ने गरी काम अघि बढाइने पनि स्पष्ट पारे । 

सिसडोलमा डेढ सय गाडी फोहोर व्यवस्थापन गरिन्थ्यो । सिसडोल ल्याण्डफिल्ड साइटका इञ्चार्ज सरकारदीप श्रेष्ठले बाटोभन्दा माथि फोहोर व्यवस्थापन गर्नुपरेकोले समस्या आइरहेको बताए । 

इञ्चार्ज श्रेष्ठले काठमाडौंवासीले केही समय घरमै कुहिने÷नकुहिने फोहोर छुट्याएर राख्ने र कुहिने फोहोरलाई मात्र बाहिर निकालेर नकुहिने फोहोरलाई घरमै व्यवस्थापन गर्न र सडकमा जथाभावी फोहोर नफालिदिन पनि आग्रह गरे । रासस

Logo