केही दिन फोहोर जथाभावी सडकमा नमिल्काउनुहोस्ः मेयर शाक्य

केही दिन फोहोर जथाभावी सडकमा नमिल्काउनुहोस्ः मेयर शाक्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरलगायत उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोर छिट्टै व्यवस्थापन गर्ने बताएका छन्।

बञ्चरे डाँडामा निर्माणाधीन स्यानिटरी ल्याण्डफिल्ड साइट र सिसडोल ल्याण्डफिल्ड साइटको स्थलगत रिपोर्टिङ गरेर फर्किएका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख शाक्यले यस्तो बताएका हुन।

‘तपाईँहरु त्यहाँको अवस्थाबारे स्थलगत रिपोर्टिङ गरेर फर्किनुभएको छ,’ प्रमुख शाक्यले भने, ‘बञ्चरे डाँडामा निर्माणाधीन स्यानिटरी ल्याण्डफिल्ड साइट जति सक्दो छिटो सम्पन्न गरेर हामीलाई हस्तान्तरण गरेको अवस्थामा स्थायी रुपमा फोहोर व्यवस्थापन गर्न सक्छौँ ।’ 

शाक्यले केही दिनदेखि वर्षाका कारण सिसडोल ल्याण्डफिल साइटसम्म जाने बाटो विग्रिएका कारण नियमित रुपमा फोहोर व्यवस्थापनमा केही कठिनाइ भइरहेको पनि जानकारी दिए ।

‘सिसडोलसम्म जाने बाटो वर्षाका कारण विग्रिएको छ । बाटोकै कारण फोहोर बोकेर त्यहाँ पुगेका गाडीलाई पनि डोजरले ठेलेर माथिसम्म लैजानुपर्ने अवस्था छ,’ शाक्यले भने, ‘त्यही कारण केही दिनदेखि पूर्ण रुपमा फोहोर उठाउन सकेका छैनौं ।’ 

उनले छिट्टै फोहोर व्यवस्थापन गरी सफा काठमाडौँ सफा बनाउने प्रतिवद्धता व्यक्त गरे । ‘केही दिनका लागि घर वा कार्यालयमा उत्पादन भएको फोहोर जथाभावी सडकमा नमिल्काउन तथा कुहिने र नकुहिने फोहोर छुट्याएर सकेसम्म सहरलाई दुर्गन्ध कम गर्ने प्रयासमा लाग्न सम्पूर्ण महानगवासीलाई अनुरोध गर्न चाहन्छु,’ उनले भने ।

प्रमुख शाक्यले फोहोर व्यवस्थापनका लागि सरकारसँग समन्वय भइरहेको जानकारी दिए । उनले भने, ‘नियमित रुपमा जति फोहोर व्यवस्थापन हुनुपर्ने हो, त्यो तत्कालका लागि सकिरहेका छैनौँ।

उनले विगतका दिनमा पनि समन्वयमै फोहोर व्यवस्थापन गरिरहेकोसमेत बताए । ‘अहिले पनि समन्वय गरिरहेका छौँ, उहाँहरुबाट सकारात्मक रुपमा सहयोग गर्ने बचन प्राप्त भएको छ,’ शाक्यले भने, ‘मुख्य गरेर सिसडोलसम्म जान अस्थायी सडक निर्माणका लागि हामीले सडक विभागलाई आग्रह गरेका छौँ । हामी बाटो निर्माणका लागि खर्च गर्न तयार छौँ ।’

अहिले बञ्चरे डाँडा ल्याण्डफिल्ड साइट सहरी विकास मन्त्रालयले बनाइरहेको स्मरण गराउँदै उनले फोहोर व्यवस्थापनको जिम्मेवारी संघीय, प्रदेश र स्थानीय सरकार सबैको भएको बताए।

काठमाडौँ महानगर वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठले पनि गत वर्ष नै बञ्चरे डाँडामा निर्माणाधीन स्यानिटरी ल्याण्डफिल्ड साइटको निर्माण जति सक्दो छिटो सम्पन्न नहुने हो भने सिसडोलमा फोहोर व्यवस्थापन गर्न कठिन हुने जानकारी मन्त्रालयलाई गराएको बताए ।

सामान्य अवस्थामा दैनिक १ सय ५० ट्रक पुग्ने साइटमा अहिले बढीमा ५० वटा मात्र पुग्ने गरेका छन् । यी ट्रकले लगेको फोहोर पनि भ्याली १ को क्षमता बढाएर व्यवस्थापन हुँदै आएको छ । यही कारण सहरभित्रको नियमित फोहोर उठाउन थप समस्या भएको हो। प्रमुख श्रेष्ठले भने,‘फोहोर व्यवस्थापन गर्ने जिम्मेवारीबाट काठमाडौँ महानगर एकरत्ति पनि पछि हटेको छैन ।’ 

दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर 

बञ्चरे डाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माण गर्न २०७६ बैशाख २२ गते एक बर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभि (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । 

काठमाडौं महानगरको वातावरण व्यवस्थापन बिभागको तथ्याङ्कअनुसार काठमाडौं उपत्यकाबाट दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ । जसमध्ये सबैभन्दा धेरै काठमाडौं महानगरपालिका क्षेत्रबाट दैनिक ५ सय १६ मेट्रिक टन, ललितपुर महानगर क्षेत्रबाट १ सय ३० मेट्रिक टन फोहोर संकलन गरेर ल्याण्डफिल्ड साइटमा पु¥याउने गरिएको छ । यसबाहेक संकलन हुन नसकेको फोहोर र श्रोतमा घटाएको फोहोरको मात्रा पनि छ । यसको यकिन तथ्याङ्क छैन ।

उपत्यकाका १८ वटा नगरपालिकामध्ये भक्तपुर नगर क्षेत्रबाहेक अन्य सबै नगर क्षेत्रमा उत्पादन भएको फोहोर सिसडोल ल्याण्डफिल साइटमा पुर्याउने गरिएको छ ।

Logo