फोहोर उठाउन छाडेर सडकको झार उखेल्दै नगर प्रहरी र कर्मचारी

फोहोर उठाउन छाडेर सडकको झार उखेल्दै नगर प्रहरी र कर्मचारी

केन्द्रबिन्दु
0
Shares

पछिल्लो दुई सातादेखि काठमाडौं उपत्यकाको फोहोर महानगरले उठाउन सकेको छैन। सडकमा फालिएका फोहोर नउठेर सहर नै दुर्गन्धित बन्दै गएको छ।

घरबाट बाहिर निष्किने वित्तिकै सडक, नदी किनार, गल्ली र चोक चोकमा फोहोरको डंगुर लागेको छ भने दुई हप्तासम्म महानगर फोहोर उठाउन नआउँदा घर–घरमा समेत फोहोर थुप्रिएर बसेको छ।

तर महानगर फोहोर व्यवस्थापन गर्ने स्थान र लगातार पानी परिरहेको भन्दै फोहोर उठाउन आएको छैन्। तर महानगरपालिकाका कर्मचारी र नगरप्रहरी सडकको झार उखेल्न व्यस्त भएका छन्।

सोमबार २९ औँ महानगर प्रहरी दिवसको अवसर पारेर महानगर सरसफाई अभियानमा जुटेका छन्। आज नयाँ बानेश्वर, विजुली बजार, माइतीघरलगायतका स्थानमा एकै खाले पोशाक लगाएर नगर प्रहरी र कर्मचारी सडकको झार उखेल्दै सरसफाई गरिरहेका छन्।

काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नगर प्रहरी प्रमुख धनपति सापकोटा र काठमाडौं महानगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्यालले समेत सडकमा झार उखेल्दै महानगर प्रहरी दिवस मनाएका छन्।

नगर प्रहरीहरुसँगसँगै तीनकुनेदेखि माइतीघर मण्डलासम्मको सडकको बिचका घरी आइल्याण्डको झार उखेल्दै त घरी बोट–विरुवा काँटछाट गर्दै अनि कुनै बेला नगर प्रहरीलाई निर्देशन दिदैँ ज्ञवालीले सहभागिता जनाएका थिए। 

अभियानकै सिलसिलामा ज्ञवालीले महानगर प्रहरी दिवसको अवसर पारेर हरियाली प्रवर्धनका लागि सरसफाई अभियान सञ्चालन गरी वातावरणीय सुधारका सन्देश दिने प्रयास गरेको जानकारी दिए। 

‘महानगरले लडकडाउनका समयमा सहर बडार्ने, फोहोर संकलन तथा अन्तिम व्यवस्थापन गर्ने, झार उखेल्ने जस्ता नियमित सरसफाइका काम गर्दै आएको थियो,’ ज्ञवालीले भने, ‘आज नगर प्रहरी दिवसको अवसर पारेर काठमाडौँका मुख्य सडकमा सहरी सौन्दर्यीकरण र हरियाली बढाएर वातावरणीय सुधार गर्ने प्रयासस्वरुप सरसफाइ गरेका हौँ।’ 

गत वर्षदेखि माइतीघर मण्डलादेखि तीनकुनेसम्मका सडकका विचका आइल्याण्डमा बगैंचा निर्माण गर्ने, बिरुवा रोप्ने, मौसम अनुसारका फूलका बोट र विरुवाहरू लगाउने, मर्मत सम्भार गर्ने, हेरचाह र रेखदेख गर्ने कार्य महानगरपालिकाले नै गर्दै आएको ज्ञवालीले जानकारी दिए।

नगर प्रहरी प्रमुख सापकोटाले पनि महानगर दिवसको अवसर पारेर माइतीघर मण्डलादेखि तीनकुनेसम्म १ सय ६० जना नगर प्रहरी परिचालन गरेर सरसफाइ अभियान सञ्चालन गरेको जानकारी दिए।

Logo