प्रधानमन्त्रीद्वारा काठमाडौंको फोहोर व्यवस्थापनका लागि निर्देशन

प्रधानमन्त्रीद्वारा काठमाडौंको फोहोर व्यवस्थापनका लागि निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिका लगायत उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोर छिटो व्यवस्थापन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक भएका छन्।

आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतसँगको छलफलमा प्रधानमन्त्री देउवा जति सक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनका लागि सकारात्मक भएका हुन्। 

‘सिसडोलसम्म जाने बाटो वर्षाका कारण विग्रिएको छ। त्यहि कारण केही दिनदेखि पूर्णरुपमा फोहोर उठाउन सकेका छैनौँ,’ प्रधानमन्त्री देउवासँगको छलफलपछि कुराकानी गर्दै प्रमुख शाक्यले भने, ‘सिसडोलसम्म फोहोर बोकेका गाडी लैजानका लागि सडक निर्माणको पहल गर्न हामीले प्रधानमन्त्रीज्युलाई आग्रह गरेका छौं ।  

प्रधानमन्त्री देउवाले छलफलकै क्रममा सडक विभागका डिजीलाई टेलिफोन सम्पर्क गरि आजैबाट तत्काल बाटो बनाउने कार्य थाल्न निर्देशन दिनुभयो ।’ उनले भने । प्रमुख शाक्यले प्रधानमन्त्रीले बोलाएर भन्दा पनि फोहोर व्यवस्थापनका लागि आफैले पहल गरेर प्रधानमन्त्रीसँग भेटघाट गरेको भन्दै बाटो निर्माण हुने वित्तिकै तुरुन्तै फोहोर उठाउन सकिने बताए । 

‘प्रधानमन्त्री देउवासँगको भेटमा हामीले बञ्चरे डाँडाको ल्याण्डफिल्ड साइड छिटो भन्दा छिटो निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने वातावरण निर्माण गर्न पनि आग्रह गरेका छौँ,’ शाक्यले भने, ‘भदौ ८ गते नै प्रधानमन्त्रीलाई पत्र पठाएर फोहोर व्यवस्थापनका लागि पहल गर्न आग्रह गरेको थिएँ । त्यसै अनुसार उहाँसँग भेटघाटका लागि समय मागेको थिएँ । आज भेटघाटको मिति तय भयो।’ 

प्रमुख शाक्यले प्रधानमन्त्री देउवालाई पठाएको पत्रमा काठमाडौँ उपत्यकाको फोहोरमैलाको दीर्घकालिन समस्या समाधानका लागि निर्माणाधिन बञ्चरे डाँडा स्यानीटरी ल्याण्डफिल साइडको हालसम्म पनि निर्माण कार्य सम्पन्न नभएको र सो ल्याण्डफिल साइटसम्म पुग्ने बाटोसमेत निर्माण सम्पन्न हुन नसकेका कारण उपत्यकाको फोहोरमैला व्यवस्थापनमा अवरोध पुगेको उल्लेख गरिएको थियो। 

‘यस अवस्थामा तत्काल उक्त बञ्चरे डाँडा ल्याण्डफिल्ड साइड र सो साइडसम्म पुग्ने बाटो अविलम्ब निर्माण सम्पन्न गरी काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनमा सहजताका लागि प्राथमिकताका साथ आवश्यक कारबाही अगाडि बढाई दिनु हुन अनुरोध गर्दछु,’ पत्रमा उल्लेख थियो।  

Logo