गोठमा मृत्यु कुरेकी उमा: आँखा देख्दिनन्, खुट्टा चल्दैनन्

गोठमा मृत्यु कुरेकी उमा: आँखा देख्दिनन्, खुट्टा चल्दैनन्

केन्द्रबिन्दु
0
Shares

गुल्मीको इस्मा गाउँपालिका-४ दोहली न्वालाकी उमा घर्तीले बाहिरी संसार नदेखेको ७ वर्ष भयो। अहिले गोठको छेउमा पशुसरह पल्टिएकी छन् उनी। पीडाले आँखाबाट आँसु खस्छ तर, आफ्नै अवस्था देख्न सक्दिनन्।

केही समय पहिलेसम्म दुवै आँखा नदेख्दा पनि लट्ठीको भरमा हिँडडुल गर्थिन्। छ महिनादेखि कम्मरदेखि तलको भाग पनि चल्दैन। अहिले हर फर्किन पनि अरूको आवश्यकता पर्छ। उनका ८ र १३ वर्षका छोरा र छोरी छन्। रोगले चापेपछि श्रीमान् बिनबहादुर घर्तीले पनि हेर्न छाडे। दृष्टि गुमेसँगै खुट्टा पनि नचल्ने भए।

उमा बिस्तरामा दिसापिसाबसँग लडिरहेकी छन्। उनले दुवै आँखा गुमेदेखि उपचार गर्न, मिठो-मसिनो खान र आरामको कुराको त कल्पना पनि गरेकी थिइनन्, त्यसैमाथि थपिएको अर्को रोगले दिसापिसाब बिस्तरामै गर्ने अवस्था आयो। उनले केही महिनादेखि कल्यारस्थित दिदी सिरकला गुरुङको घरमा मृत्युका दिन कुरिरहेकी छन्।

८ वर्षीय छोरा अनिल बोल्ने सहारा मात्र छन्। दैनिक आमाको पीडा हेरेर निरीह बनेका छन् उनी। तर, उनीसँग कुनै उपाय छैन। आमाको शरीर दैनिक खस्किएको छ। अनिलसँग आमाको मृत्युको साक्षी बन्नुबाहेक अरू उपाय छैन। सिरकला पनि एकल बिपन्न महिला हुन्। काम नगरे आफैँले कसरी खाने भन्ने सिरकलालाई चिन्ता छ। त्यससँगै बहिनीको स्याहार र उपचारको दायित्व पनि।

‘सबले आफूले सक्ने बेलासम्म हेर्ने रहेछन्। छोरीले डोहोर्‍याएर मेरोमा ल्याएर छाडी’, उनले भनिन, ‘मैले सकेको गरिरहेकी छु।'

सिरकलाले केही ऋण खोजेर गुल्मी अस्पताल पुर्‍याएकी हुन् उमालाई। डाक्टरले थप उपचारका लागि पाल्पा पठाए। तर, उपचारका लागि पैसा नभएकाले घर लिएर आएको गुरुङले दुखेसो पोखिन्।

बिस्तराको दिसापिसाबले उमाको ढाड कुहिएको छ। उपचार र सरसफाइको अभावमा ढाडमा प्वाल पर्दै जान थालेपछि सहयोगको याचना सुरु गरिएको छिमेकी कमल गुरुङले बताए। उमालाई आफू बाँच्ने भन्दा छोराछोरी अलपत्र पर्नेमा चिन्ता छ।

‘शरीर कुहिएर सकिन लाग्यो। म त बाँच्दिनँ, छोराछोरी अलपत्र पर्ने भए’, उनले भनिन्, ‘मलाई मभन्दा उनीहरूको पिरलो छ।’

स्थानीय सरकारले पनि उमालाई हेर्नेबाहेक अरू केही गर्न सकेको छैन। गाउँपालिकाको कार्यविधिअनुसार यातयात खर्चबापत पाँच हजार र सरकारले तोकेका आठवटा रोगका लागि एक लाख रुपैयाँ छुटको सिफारिस दिनेबाहेकको विकल्प नभएको इस्मा गाउँपालिकाका प्रमुख लक्ष्मण बिष्टले बताए। बिष्टले उपचारका लागि सकेका उपायहरू आफूहरूले पनि निकाल्ने भन्दै सहयोग गर्न सबैलाई आग्रह पनि गरे।न्युज कारखाना

Logo