पर्वत पहिरोमा ज्यान गुमाउनेकाे संख्या ११ पुग्याे, चार जिल्ला सञ्चार सम्पर्कबाट बाहिर

पर्वत पहिरोमा ज्यान गुमाउनेकाे संख्या ११ पुग्याे, चार जिल्ला सञ्चार सम्पर्कबाट बाहिर

केन्द्रबिन्दु
0
Shares

अविरल वर्षापछिको पहिरोले पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा ११ जनाको मृत्यु भएको छ।  

जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी शिवराज बुढाथोकीकाअनुसार पहिरोले कुश्मा नगरपालिका ३ का एकै परिवारका पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७५ वर्षीया कौशिला पौडेल, ३५ वर्षीया भगवती पौडेल, १६ वर्षीया विमला पौडेल, ११ वर्षीया विनिता पौडेल र ९ वर्षीय विनोद पौडेल छन्। 

त्यसैगरी पहिरोका कारण घर पुरिँदा कुश्मा नगरपालिका ११ सिल्मीका ३५ वर्षीय दुर्गा पौडेल र ६ वर्षीय गणेश पौडेलको मृत्यु भएको छ। डिएसपी बुढाथोकीकाअनुसार कुश्मा ११ पकुवाकी ७० वर्षीया डल्ली उपाध्याय पौडेल, ४० वर्षीया मायाकुमारी पौडेल र ३ वर्षीय बालक प्रयुष पौडेलको पहिरोका कारण ज्यान गएको छ। 

त्यसैगरी पहिरोले गोठ बगाउँदा पुरिएर मोदी गाउँपालिका ५ आमबोटकी ५० वर्षीया फूलमाया थापाको पनि मृत्यु भएको डिएसपी बुढाथोकीले जानकारी दिए। निरन्तरको वर्षाका कारण आएको पहिरोले चारवटा घर पुरिँदा ११ जनाले ज्यान गुमाउनु परेको बुढाथोकी बताउँछन्।

यस्तै मध्यपहाडी लोकमार्गको पर्वत आमबोटदेखि कुश्मा बजारसम्मको सडक अवरुद्ध छ। यो क्षेत्रमा बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको डिएसपी बुढाथोकीले जानकारी दिए। उनकाअनुसार पहिराेले खेतीयोग्य जमिनमा निकै ठूलो क्षति पुगेको छ भने पहिरो पन्छाउन मात्रै दुई साता बढी लाग्ने अनुमान गरिएको छ।

पहिरोका कारण धौलागिरीका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ सडक, विद्युत र सञ्चार सम्पर्कबाट विच्छेद छन्।न्युज कारखानाबाट

Logo