बाढीपहिरोबाट यसवर्ष ज्यान गुमाउनेकाे संख्या ११६ पुग्याे, ४४ जना बेपत्ता

बाढीपहिरोबाट यसवर्ष ज्यान गुमाउनेकाे संख्या ११६ पुग्याे, ४४ जना बेपत्ता

केन्द्रबिन्दु
0
Shares

यस वर्ष अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो र डुबानमा परि गत जेठ ३० यता ११६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६६ पुरुष र ४० महिला छन्। जसमा २९ बालबालिका रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ। रातिदेखिको भारी वर्षापछि पहिरोमा परेर पर्वतमा मात्रै आज ११ जनाको ज्यान गएको छ।  

उक्त अवधिमा बाढीपहिरो र डुबानमा १३६ जना घाइते भएका छन्। तीमध्ये ८८ पुरुष, ४८ महिला छन्। जसमध्ये ३१ बालबालिका रहेका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए। बाढीपहिरोमा ४४ बेपत्ता भएका छन्। उनीहरूको खोजीकार्य जारी छ। बाढीपहिरोमा परेका एक हजार २८९ जनाको विभिन्न ठाउँबाट उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

बाढीका कारण तीन हजार १८२ घर डुबानमा परेका, ९७८ घर, १६४ गोठ, ६६ पुल, आठ विद्यालय र १५ सरकारी कार्यालयमा क्षति पुगेको छ। एक हजार ३०३ वटा पशु मरेका छन्। सो अवधिमा भएका जम्मा एक हजार ३४५ विपद्का घटनाबाट एक हजार २६९ परिवारका ६ हजार १११ मानिस विस्थापित भएका छन्।

उक्त घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण, उद्दार, जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Logo