मिथिलाञ्चलमा चौरचन पर्व मनाइँदै

मिथिलाञ्चलमा चौरचन पर्व मनाइँदै

केन्द्रबिन्दु
0
Shares

मिथिलाञ्चलमा आज चौरचन पर्व मनाइँदै छ ।

सप्तरीसहित धनुषा, महोत्तरी, सिरहा, सर्लाहीलगायतका जिल्ला तथा सीमावर्ती क्षेत्र भारत विहारको केही क्षेत्रमा चौरचन पर्व मनाइन्छ । 

प्रत्येक वर्ष भाद्र शुक्लपक्षको चतुर्थी तिथिमा मनाइने चौरचन पर्वमा चन्द्रमालाई पूजा गरिन्छ । चन्द्रमालाई पूजा गरिने विधि नै चौठचन्द्र अथवा चौरचन हो । 

शुक्रबार राति व्रत बसेकी व्रतालु महिलाहरु आ–आफ्नो घरको आँगनमा पूजा सामग्री चढाएर उदाउँदै गरेको चन्द्रमालाई अघ्र्य दिएर यो पर्व मनाउँछन् ।

यस पर्वका लागि व्रत बस्ने व्रतालु महिला दिनभर निराहार बस्छन् । साँझपख चन्द्रमा उदय हुनुअगाडि पूजा र अन्य सामग्री माटोको भाँडामा सजाएर राखिन्छ । चन्द्रमाको उदय भएपछि व्रतालु महिलाले हातमा कुनै फल लिएर चन्द्रमाको दर्शन गर्छिन् र आफ्नो मनमा रहेका सङ्कल्प र आराधनाको मनमनै स्मरण गर्छिन् । त्यसपछि घरका अन्य सदस्यहरू त्यसैगरी फलसहित दर्शन गर्छन् ।

तीज पर्व सम्पन्न भएसँगै सुरु हुने यस पर्वलाई मिथिलामा निकै आस्थाका रुपमा लिइन्छ । कृष्ण जन्माष्टमीको १२ दिनपछि यो पर्व मनाइन्छ । 

छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाउने यो पर्व हर्षोल्लास र भक्तिका साथ मनाइन्छ । यो पर्वलाई चौरचन, चौथीचान, चौरचण्ठ र चौथीचन्द्र पनि भन्ने गरिएको छ । 

नयाँ माटोको भाँडोमा एक दिनअगाडि जमाइएको दही, केरा, मिठाई, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवीदेवतालाई चढाइने गरिन्छ । 

आफ्नो सन्तान र पतिको दीर्घायुको कामना गर्दै पूजामा विशेष परिकारसहित पूजापाठ गर्ने चलन रहेको सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–२ सकरदहीका कलमवतीदेवी बडियैत यादवले बताए ।

चौथीको दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यताअनुसार चौठचन्द्र पर्व मान्ने परिवारजनले हातमा केरा, स्याउ, अम्बा, अनार, काँक्रा, घरमा तयार पारेको पकवान, मिठाई, गाजरजस्ता सामग्री लिएर दर्शन गर्ने परम्परा रहेको छ ।

दिनमा प्रसाद बनाउने र बेलुका पूजा गर्ने भएकाले अहिले घरघरमा महिला प्रसाद तयार गर्नमा व्यस्त छन् ।
    
यो पर्वमा घरमूली महिला दिनभरि निराहार व्रत बसेर साँझ चन्द्र दर्शन गरेर यो पर्व समापन गर्छन् । गौरीपुत्र भगवान् गणेशको श्रापबाट मुक्त हुन चन्द्रमाको पूजा गर्न थालिएको धार्मिक जनविश्वास छ  । रासस 
 

Logo