मिर्गौला पीडित सरोकार समाजद्वारा अर्थमन्त्रीलाई आभार

मिर्गौला पीडित सरोकार समाजद्वारा अर्थमन्त्रीलाई आभार

केन्द्रबिन्दु
0
Shares

मिर्गौला पीडित सरोकार समाजले बजेटमा मिर्गौला पीडितलगायतलाई मासिक उपचार खर्चको व्यवस्था गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माप्रति आभार प्रकट गरेको छ । 

बिहीबार अर्थ मन्त्रालयमा पुगेर समाजका केन्द्रीय अध्यक्ष बलराम सुवेदीसहितको टोलीले धन्यवाद दिएको हो ।

अर्थमन्त्री शर्मालाई ९६ वर्षीया गंगादेवी पौडेल र समाजका अध्यक्ष सुवेदीले धन्यवाद पत्र प्रदान गरेका हुन् । पौडेलकी ५९ वर्षीया छोरी मिर्गौला पीडित छिन् । उनको डायलासिस भइरहेको छ ।

‘अघिल्ला सरकारबाट कटौती गरिएको भत्ता पुनः अर्थमन्त्री जनार्दन शर्माज्यूले दीर्घरोगी, मिर्गौला डायलासिस, मिर्गौला प्रत्यारोपी, क्यान्सर र स्पाइनल इन्ज्युरी भई प्यारालाइसिस रोगका बिरामीहरूलाई मासिक भत्ता ५ हजार दिने बजेटमा व्यवस्था गर्नु भएकोमा सम्पूर्ण दीर्घरोगीहरूको तर्फबाट एकमुष्ट बधाई, धन्यवाद तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छौँ’, धन्यवाद पत्रमा भनिएको छ ।

मन्त्री शर्माले सरकार मिर्गौला पीडितलगायतको साथमा सधैँ रहेको बताए । उनले राज्य नागरिकको अभिभावकत्व ग्रहण गर्नबाट नचुक्ने आश्वासन दिए ।

‘हामी छिट्टै निश्चित कार्यविधि बनाएर सम्पूर्ण बिरामीलाई रकम उपलब्ध गराउँछौँ’, मन्त्री शर्माले भने, ‘प्रत्यारोपण (मिर्गौला) मात्र होइन, डायलासिस गरिरहेका सबैलाई सहयोग हुन्छ ।’

धन्यवाद पत्र ज्ञापन गर्ने क्रममा मिर्गौला पीडित सरोकार समाजले स्वास्थ्य बीमालाई १ लाखबाट २ लाख, दीर्घरोगीका सन्तानलाई विदेशमा उच्च शिक्षा अध्ययनका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेलगायतका मागसमेत राखेको थियो ।

Logo