पाँच वर्ष पहिल्यै सरकारले बनाएको घरमा मुक्त हलियाहरु बस्न नमानेपछि…

पाँच वर्ष पहिल्यै सरकारले बनाएको घरमा मुक्त हलियाहरु बस्न नमानेपछि…

केन्द्रबिन्दु
0
Shares

मुक्त हलियाको पुनःस्थापनका लागि पाँच वर्ष पहिले निर्माण गरिएका घरमा अहिलेसम्म पनि नबस्दा बर्सेनि ती घर भत्किन थालेका छन् । कतिपय घर बर्सातको समयमा पर्ने झरीका कारण जगदेखि नै भत्किइ सकेका छन् भने कतिपय भत्किने अवस्थामा पुगेका छन् । 

पूर्वीचौकी गाउँपालिका–२ बगलेकमा मुक्त हलिया पुनःस्थापनाका लागि निर्माण गरिएको मुक्तहलियाको बस्ती मान्छे नबस्दा दिनहुँ खण्डहर हुनाका साथै घर भत्किँदै गएका हुन् । पुस्तौँदेखि मालिकको घरमा हलो जोतेका १८ परिवार बस्नका लागि सरकारद्वारा स्थापना गरिएको उक्त बस्तीमा निर्माण भएको पाँच वर्ष बितिसक्दासमेत कोही पनि नबस्दा बस्ती खण्डहरमा परिणत हुँदै जान थालेको छ ।

सरकारले निर्माण गरेको उक्त बस्तीमा पानी, बिजुली नहुँदा मुक्त हलिया बस्न नसकेको उक्त सामूहिक बस्तीमा घर भएकी मुक्तहलिया चन्नरी कोलीले बताइन् । 

हलिया बस्ती स्थापनाका लागि विद्यालय, खानेपानी, विद्युत् तथा न्यूनतम विकासका पूर्वाधार हुनपर्ने कार्यविधिमा उल्लेख भए पनि बगलेकको बीच जङ्गलमा बस्ती बसाउँदा समस्या भएको मुक्तहलियाको गुनासो छ । 

हलियालाई पुनः हलिया नै बनाई राख्नका लागि बगलेकको जङ्लमा बस्ती राख्न प्रपञ्च गरिएको हलिया अभियानकर्मी गोरखबहादुर सार्कीले बताए । 

कर्मचारी अभाव भएका कारण जिल्लाभरि मुक्त हलियाका मर्मत तथा निर्माण भएका सबै घरको अनुगमन गर्न नसकिएको घर अनुगमनको जिम्मा पाएका जिल्ला मालपोत कार्यालयका प्रमुख प्रेमबहादुर माझीले जानकारी दिए ।

सरकारले गएको वर्ष नै हलिया पुनःस्थापनाको काम सक्ने बताए पनि प्रभावकारी कार्यान्वयन नहुँदा वास्तविक पुनःस्थापना हुनेमा मुक्तहलियामा शङ्का पैदा गरेको छ । 

मुक्तहलिया पुनःस्थापना बस्तीमा एक घर पनि मापदण्डअनुसार नबनेका स्थानीयको आरोप छ । बस्तीमा जस्तापाताले छाएका घर भुईंतले मात्र छन् भने उचाइ सात फिटभन्दा तल छ । बगलेकमा मापदण्डअनुसारका घर नबनेको जानकारी आफूलाई पनि प्राप्त भएको प्रमुख माझीले स्वीकारे । 

दुईकोठे भवन निर्माणको नक्सा भए पनि सानो आकारको टहराजस्तो घर निर्माण गरेर मुक्तहलियाले अनुदान लिने गरेका छन् । नेपाल सरकारले जग्गा खरिदका लागि रु दुई लाख र घर निर्माणका लागि रु तीन लाख २५ हजार दिएको भए पनि घर निर्माण गर्दा करिब रु एक लाख १२ हजारमात्र खर्च गरेको मुक्तहलिया दीपक कोलीले आरोप लगाए ।

बस्तीमा निर्माण गरिएका घरको झ्याल ढोकासमेत नभएको मुक्तहलिया समाजका पूर्वअध्यक्ष डम्मर विकले बताए । 

मुक्त हलिया बस्दै आएको ठाउँबाट एक घण्टाको दूरीमा रहेको उक्त जमीन सुविधा नरहेको जानकारी हुँदाहुँदै पनि किन जमिन खरिद गरियो यो भने रहस्यको विषय बनेको स्थानीयवासीको आरोप छ । 

पूर्वीचौकी–२ बगलेक र दिपायल सिलगढी नगरपालिका–७ मा मुक्तहलियाका ३० घर परिवारको पुनःस्थापनाका लागि जग्गा खरिद तथा घर निर्माण गरिएको छ । 

प्रतिपरिवार रु पाँच लाख २५ हजारको लगानी भए पनि हाल उनीहरू पुरानो घरमा बस्दै आएका छन् । रासस
 

Logo