काठमाडौंको फोहर व्यवस्थापन: स्रोतदेखि नै समस्या

काठमाडौंको फोहर व्यवस्थापन: स्रोतदेखि नै समस्या

केन्द्रबिन्दु
0
Shares

दुई वर्षका लागि भनेर विसं २०६२ मा काठमाडौं उपत्यकाको फोहर नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलमा फ्याँक्न सुरु गरिएको थियो ।आज १६ वर्ष हुँदा पनि त्यहाँ फोहर फ्याँक्ने काम जारी छ ।

सिसडोलमा दैनिक एक हजारदेखि एक हजार २०० मेट्रिक टनसम्म फोहर जाने गरेको छ । विकल्प नहुँदा योजनाविहीन रूपमा अहिले त्यहाँ फोहर विसर्जन बाध्यात्मक छ ।

गाउँ नै दुर्गन्धित हुँदा पटक–पटक स्थानीयवासी बाट आन्दोलन गरी फोहर रोक्ने काम भयो तर आन्दोलन, सम्झौता, फेरि आन्दोलन अनि फेरि सम्झौताबाहेक दीर्घकालीन समाधानका उपायको खोजी भएन । अहिलेको टड्कारो समस्या यही हो । नजिकै रहेको नुवाकोट र धादिङको सिमानामा पर्ने बन्चरेडाँडामा विकल्पका रूपमा स्थान तय भए पनि त्यहाँ निर्माणको काम जारी छ । त्यसैले सिसडोलमा अहिले पनि समस्या ज्युँका त्युँ छ ।

सिसडोलका स्थानीय राममणि घिमिरेका अनुसार त्यहाँ दुर्गन्धले बसिसाध्या हुन्न । कतिपय अवस्थामा विस्फोटक पदार्थ विस्फोट भएको उदाहरण रहेको र बमसँग बस्नुपरेको महसुस हुने भन्दै दुःखद अनुभूति उनले सुनाए । “सिसडोलका बासिन्दालाई फोहोरले असर गर्दैन, पैसा दिएपछि समाधान भयो भन्ने सोच कहाँसम्म ठिक हो ?”, उनले भने, “समाधानका लागि खै राज्यको ध्यान ।”

उपत्यकाको काठमाडौँ र ललितपुर महानगरपालिकासहित १८ पालिकाको फोहर दैनिक रूपमा सिसडोलमा पुग्छ । दीर्घकालीन व्यवस्थापनको राम्रो उपाय १६ वर्षसम्म नबनाइएकामा आजित भएको सुनाउँछन् सिसडोलवासी । काठमाडौँमा वास मिडिया फोरमद्वारा उपत्यकाको फोहर व्यवस्थापनका सवालमा आज आयोजित एक अन्तर्क्रियामा स्थानीयवासीले समस्या लिएर सरकारी निकाय धाउँदा–धाउँदा वाक्क भएको दुखेसो सुनाए ।

सिसडोलमा फोहर विसर्जनमा समस्या रहेको काठमाडौँ महानगरपालिकाको समेत स्वीकारोक्ति छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोल फोहर व्यवस्थापनमा विगतदेखि नै त्रुटि हुँदै आएको स्वीकार गर्दै भन्छन्, “सबै लाग्ने हो भने समाधान गर्न नसकिने होइन, सम्भव छ ।”

Logo