कोशीटप्पु वन्यजन्तु आरक्षमा करेण्ट लागेर मर्यो ‘मकुना’

कोशीटप्पु वन्यजन्तु आरक्षमा करेण्ट लागेर मर्यो ‘मकुना’

केन्द्रबिन्दु
0
Shares

कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती करेण्ट लागेर मरेको छ। आरक्ष छेउको धानबारीमा लगाइएको करेण्टमा परेर मकुना मरेको हो। कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले समेत मकुना करेण्ट लागेर मरेको पुष्टि गरेको छ।

आरक्षका संरक्षण अधिकृत अशोक रामले चरनको क्रममा धानखेतमा पुगेको मकुना हात्ती करेण्ट लागेर मरेको बताए। रामका अनुसार हात्ती आज विहान मृत भेटिएको थियो।  

आरक्षका प्रमुख संरक्षण अधिकृत रामले मकुनाको मृत्युले आरक्षलाई ठूलो क्षति पुगेको बताए। उनले मकुना स्थानान्तरणको कुरो चलिरहँदा मृत्युको खबर दुःखद भएको बताए।

आरक्ष कार्यालयले घटना मुचुल्का तयार पारेर सदगदको तयारी थालिएको जनाएको छ । केही साता अघि मात्रै संरक्षण विभागले मकुना स्थानान्तरणको विषयमा तयारी थालिएको बताएको थियो। जसका लागि आरक्ष हातामा स्थापना गरिएको प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रलाई अध्ययनको जिम्मेबारी दिइएको थियो।

मकुना जंगली हात्ती भएपनि रैथानेका रुपमा लामो समययता आरक्ष हातामै बस्दै आएको थियो। मकुना हात्तीसारमा रहेका हात्तीको अभिभावकका रुपमासमेत रहेको थियो। मकुना आरक्षमा रहेका जंगली हात्तीको नाइकेसमेत थियो। आरक्षबाट हुलसँगै बस्तीमा प्रवेश गर्ने क्रममा मकुनाले अन्य हात्तीको अगुवाई गर्ने गर्थ्यो।

मकुनाको आक्रमणमा परी सर्वसाधारणको ज्यान जाने क्रम बढेसँगै हात्ती स्थानान्तरणको आवाज उठ्दै आएको थियो। मकुनाले सुनसरी र सप्तरी तर्फका दर्जन बढीको ज्यान लिएको थियो।

Logo