जलवायु परिवर्तनको नकारात्मक परिणामबारे नेपालले आवाज उठाउनुपर्छ: सहरी विकास विज्ञ थापा

जलवायु परिवर्तनको नकारात्मक परिणामबारे नेपालले आवाज उठाउनुपर्छ: सहरी विकास विज्ञ थापा

केन्द्रबिन्दु
0
Shares

नेपाल सरकारका पूर्व सचिव तथा सहरी विकास विज्ञ किशोर थापाले कार्बन उत्सर्जनमा नेपालको धेरै भूमिका नभए पनि त्यसको नकारात्मक परिणामबाट पीडित भएकाले यसबारे विश्वमञ्चहरुमा नेपालले आवाज उठाउनुपर्ने बताएका छन्।

सोमवार विश्व बसोबास दिवस २०२१ को सन्दर्भमा सहरी विकास तथा भवन निर्माण विभागले आयोजना गरेको कार्यक्रम पश्चात् पत्रकारहरूसँग कुरा गर्दै पूर्वसचिव तथा सहरी विकास विज्ञ थापाले संसारका विकसित देशको तुलनामा नेपालले कम कार्बन उत्सर्जन गरे पनि नेपाल यसबाट हुने जलवायु परिवर्तनको चपेटामा परेको बताए। 

नेपाल जलवायु परिवर्तनबाट पीडित भएको सन्दर्भमा विश्वमञ्चहरूमा आवाज उठाउनुपर्ने उनले बताए। त्यस्तै नेपालमा पनि कार्बन उत्सर्जन न्यूनीकरण गर्न ध्यान दिनुपर्ने उनले बताए। पूर्व सचिव थापाले छिमेकी मुलुक चीन र भारत संसारकै बढी कार्बन उत्सर्जन गर्ने मुलुकमा पर्ने भन्दै यी छिमेकी मुलुकसँग वार्ता गर्दा जलवायु परिवर्तनको एजेन्डा बनाउनुपर्ने बताए । उनले भने–‘सहरी क्षेत्रमा पोहोर मैलाको व्यवस्थापन नहुँदा, यातायात प्रणाली व्यवस्थित नहुँदा र उपभोक्तावादी जीवनशैली बढिरहेको छ, त्यसले पनि हाम्रो राष्ट्रिय स्तरमा कार्बन उत्सर्जन बढेको छ। त्यसमा पुनर्विचार गर्नुपर्छ। भारत र चीन संसारकै बढी कार्बन उत्सर्जन गर्ने मुलुकमा पर्छन्। छिमेकीसँग वार्ता गर्दा जलवायु परिवर्तनको विषय हाम्रो एजेन्डा हुनुपर्ने भइसक्यो।’

उनले जलवायु परिवर्तनका कारणले घटेका विभिन्न विपतका घटनाहरूबाट पाठ सिक्दै आगामी दिनमा योजना तर्जुमा गर्दा ध्यान दिनुपर्ने बताए। कार्यक्रममा बोल्दै सहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहले कार्बन उत्सर्जन घटाउनका लागि सबैले ध्यान पुर्‍याउनुपर्ने बताए। उनले फोहोरमैला व्यवस्थापन गर्ने, इन्धनको प्रयोगलाई घटाउने, सवारी साधनको प्रयोग घटाउने र भवन निर्माणको प्रक्रियालाई व्यवस्थित बनाउन सके कार्बन उत्सर्जन घट्ने उनले उल्लेख गरे। उनले मन्त्रालयले सुन्दर र स्वच्छ सहर बनाउन ध्यान दिएको भन्दै एकीकृत पूर्वाधार निर्माणको कामलाई प्राथमिकता दिएको बताए।

Logo