उपत्यकाबाट २०७ पाकेटमार पक्राउ

उपत्यकाबाट २०७ पाकेटमार पक्राउ

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीले चोरी तथा पाकेटमार कार्यमा सङ्लग्न २०७ जनालाई पक्राउ गरेको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौँले चाडपर्वमा हुनसक्ने चोरी र पाकेटमारको विरुद्धमा चलाएको अभियानमा उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो। परिसरले आज पत्रकार सम्मेलन गरी सार्वजनिक यातायात, सपिङ मल र मुख्य बजारमा चलाएको अभियानमा चोरी र पाकेटमार कार्यमा सङ्लग्नलाई पक्राउ गरेको जानकारी दिएको हो। 

पत्रकार सम्मेलनमा परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले उपत्यकाको सुरक्षा व्यवस्थालाई त्रुटीरहित, भरपर्दौ, विश्वसनीय र मजबुद बनाउन साथै नजिकिँदो चाडपर्वमा हुने लुटपाट र चोरीका घटना कमी गर्न परिसरले भदौ २५ देखि असोज १५ गतेसम्म चलाएको अभियानमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। 

“यातायात व्यवसायीको सहकार्यमा सादा पोसाकका कर्मचारीलाई सवारी साधनमा यात्रा गराई चलाइएको अभियानमा पाकेटमारले नगद, मोबाइल, गरगहना चोर्दाचोर्दै पक्राउ गरेका हौँ”, उनले भने। सपिङ मल र भीडभाड बजारमा चोरी कार्यमा सङ्लग्नलाई पक्राउ गरिएको हो। 

सार्वजनिक बसमा दुई, दुई जनाका दरले ६ जनासम्मको समूह बनाएर बसभित्र छिर्ने र पैसा भएका यात्रु पत्ता लगाएर चार तीरबाट घेरा हालेर नगद, मोबाइल, गरगहना लुटपाट गर्ने गरेको अनुसन्धानमा पाइएको एसएसपी सिंहले बताए। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले पाकेटमारको निगरानी राख्नका लागि यातायात व्यवसायीले सादा पोशाकका कर्मचारीलाई ६० पास उपलब्ध गराएको जानकारी दिए। “चाडपर्वको बेलामा उपत्यकामात्र होइन देशभरी नै चोरी र पाकेटमारी हुनसक्छ, यात्रुहरु सचेत बन्नुहोला”,  उनले भने। 

चोरी तथा पाकेटमारले सार्वजनिक सवारी साधनमा चढेपछि साङ्केतिक भाषाको प्रयोग गर्ने गरेको पाइएको छ। पक्राउ परेकामध्ये  २०७ जनामध्ये १६१ जनाको अनुसन्धान भइरहेको र ४६ जनाको अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालय हुँदै कारागार पठाइएको परिसरले जनाएको छ। 

Logo