ट्राफिक समाचारः हराएर फेला पारेका २१ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

ट्राफिक समाचारः हराएर फेला पारेका २१ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

केन्द्रबिन्दु
0
Shares

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट हराएका मध्ये २१ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। हस्तान्तरण गरिएका २१ मध्ये १० वटा मोटरसाईकल र ११ वटा स्कुटर रहेका छन्।

ट्राफिक प्रहरी महाशाखाबाट खटिएको सादा पोशाकको टोलीले खोजतलास गरि विभिन्न स्थानबाट नियन्त्रणमा लिएका मोटरसाइकलहरु महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले विशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको इलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको र चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि तत्कालै विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गरेको जानकारी दिए। 

उनले हराएका मोटरसाइकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको छ तर अब भने हराउनै नदिनको लागि धनीसमेत विशेष चनाखो र सजक हुनुपर्ने दिन आएको बताए। थप जोडदिंदै उनले सवारी धनी थप जिम्मेवार र चिन्तित बन्नु पर्ने र अतिरिक्त सुरक्षाका उपायहरुको प्रयोग गर्न समेत सुझाए।

विशेष गरि स्कुटरको सवारी दर्ता किताब (विलबुक) डिकीमै राख्ने चलन रहेको हुन्छ, चोरी पश्चात नम्बर प्लेटसमेत परिवर्तन नगरि ट्राफिक चेकिङ्गमा सोहि ब्लुबुक देखाउने गरेको समेत पाइएको छ, कतिपय अवस्थामा चाबीसहित स्कुटरहरु हराउने गरेको धनीले जानकारी दिने गरेको एसएसपी भट्टराईले स्मरण गरे। 

पछिल्लो समय उपत्यकाबाट दुईपाङ्ग्रे सवारी साधन मध्ये डियो स्कुटर र पल्सर मोटरसाइकल बढि चोरी हुने गरेको महाशाखाको तथ्याङ्कले देखाएको छ। धनीले दिएको निवेदन हुलियाको आधारमा विभिन्न पार्किङ्ग स्थलहरुबाट समेत नियन्त्रणमा लिएका महाशाखाले जनाएको छ।

महाशाखाले पछिल्लो समय सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियानलाई प्रभावकारी एवं परिणाममुखी बनाउन सादा पोशाकमा थप ट्राफिक प्रहरी परिचालन गरेको छ।

यस आर्थिक वर्षमा हराएका ३२६ मोटरसाइकल मध्ये १४६ मोटरसाइकल नियन्त्रणमा लिएको छ। १४६ मध्ये १२२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको र अन्य २४ वटाको धनी पत्ता लगाउने कार्य भइरहेको महाशाखाले जनाएको छ।

मोटरसाइकल चोरीमा संलग्न १९ जना व्यक्तिलाई विभिन्न स्थानहरुबाट चोरीका मोटरसाइकलसहित पक्राउ गरि सम्बन्धित प्रहरी बृत्तहरुमा कारबाहीका लागी पठाएको समेत महशाखाले जनाएको छ।

चाडपर्वको मौका छोपी मोटरसाइकल चोरीका घटनाहरु बढ्न सक्ने आंकलन गरि विशेष सुरक्षा योजना कार्यान्वय गर्न थप सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरि चेकजाँचलाई समेत कडाइ गरेको छ। चाडपर्वको समयमा किनमेल गर्ने भिडभाड हुने स्थानहरुमा जथाभावी पार्किङ्ग नगर्न र अतिरिक्त लकहरुको प्रयोग गरि सुरक्षाका उपायहरु अपनाउन महाशाखाले विशेष अनुरोध गरेको छ।

Logo