सडकका पेटीमा कष्टकर जीवनयापन गर्न बाध्य नागरिकको व्यवस्थापन गर्छौंः मेयर शाक्य

सडकका पेटीमा कष्टकर जीवनयापन गर्न बाध्य नागरिकको व्यवस्थापन गर्छौंः मेयर शाक्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नागार्जुन नगरपालिकामा ‘सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ भवन निर्माण हुने भएको छ। उक्त नगरपालिकाको वडा नं. ६ स्थित सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको करिब १८ रोपनी सार्वजनिक जग्गामा उक्त भवन निर्माण हुने भएको हो।

अव्यवस्थित सहयोगापेक्षी सडक मानव व्यवस्थापन एवं मानवता प्रवद्र्धनका लागि मानव सेवा आश्रम संचालन प्रयोजनका लागि सो भवन निर्माण गर्ने सम्झौतापत्रमा काठमाडौं महानगरका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्य, नागार्जुन नगरपालिका तर्फबाट मोहनबहादुर बस्नेत र मानव सेवा आश्रमका तर्फबाट अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गरेका छन्।

काठमाडौं जिल्लाभित्रका विभिन्न सडक किनाराहरु एवं सार्वजनिक स्थलहरुमा विभिन्न कारणहरुबाट घरबारविहिन भई खुल्ला आकाशमुनी अत्यन्त कष्टपूर्ण जीवनयापन गर्न विवश व्यक्तिहरुलाई सडकबाट तथा खुल्ला स्थानबाट उद्धार गरी काठमाडौं उपत्यकालाई नै सहयोगापेक्षी सडक मानवरहित शहर बनाउने उद्देश्यले नागार्जुन नगरपालिका र मानव सेवा आश्रमसँग भवन निर्माणका लागि सम्झौता गरेको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ। 

‘सहयोगापेक्षीको उद्धार, उपचार, पालन पोषण एवं पारिवारिक पुनर्मिलन गराउन र अव्यवस्थित सहयोगापेक्षी सडक मानव व्यवस्थापन एवं मानवता प्रवद्र्धनको कार्यलाई दिगो, व्यवस्थित र थप प्रभावकारी बनाउन हामीले यो असल कार्यको थालनी गरेका हौँ,’ सम्झौतापछि सम्बोधन गर्दै काठमाडौँ महानगरका प्रमुख शाक्यले भने, ‘काठमाडौं जिल्लाभित्र अव्यवस्थितरुपमा खुल्ला आकाशमुनि सडकका पेटीहरुमा अत्यन्त कष्टकर जीवनयापन गर्न विवश, शारीरिक तथा मानसिकरुपमा अशक्त, मनोरोगी, अनाथ, अपाङ्गता भएका, अशक्त तथा सहयोगापेक्षी सडक मानवहरुको उद्धार, उपचार, पालनपोषण तथा पारिवारिक पुनर्मिलन गराउने र त्यस्ता सहयोगापेक्षी मानव व्यवस्थापन एवं मानवता प्रवद्र्धनलाई दिगो व्यवस्थापन गर्न सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम निर्माण गरी संचालनमा ल्याउन यो सम्झौता गरेका हौँ।’ 

उनले मानव सेवा आश्रम निर्माणसँगै काठमाडौँको खुल्ला आकाशमुनि सडकका पेटीहरुमा अत्यन्त कष्टकर जीवनयापन गर्न विवश नागरिकहरुको व्यवस्थापन हुनेमा आफू आशावादी रहेको बताए।

सम्झौता अनुसार काठमाडौँ महानगर र चन्द्रागिरी नगरपालिका क्षेत्रभित्रका सडक पेटी तथा खुल्ला क्षेत्रहरुमा रहेका/भेटिएका सबै उमेर समूहका र सबै प्रकृतिका सहयोगापेक्षी मानवहरुको उद्धार, उपचार, पालनपोषण, शिक्षादिक्षा आदि आधारभूत आवश्यकताको परिपूर्ति गर्ने प्रवन्ध मानव सेवा आश्रमले गर्नेछ। 

‘सार्वजनिक खरिद प्रक्रियाबाट भवन निर्माण गर्न निर्धारण हुने सम्पूर्ण लागत काठमाडौँ महानगरले व्यहोर्नेछ,’ शाक्यले भने, ‘उक्त रकम भवन निर्माणको लागि बहुवर्षीय परियोजनाको रुपमा नागार्जुन नगरपालिकालाई उपलब्ध गराउनेछ। भवन निर्माणपछि आवश्यक फर्निचर तथा अन्य सरसामानको समेत व्यवस्थापनमा काठमाडौँ महानगरपालिकाले नै सहयोग गर्नेछ।’ 

सो कार्यक्रमलाई सम्वोधन गर्दै नागार्जुन नगरपालिकाका प्रमुख बस्नेतले आफ्नै नगरपालिकामा भवन बन्ने कुराले उत्साहित भएको बताए। आश्रमका अध्यक्ष अधिकारीले असल मनले थालेको काठमाडौँ महानगरपालिकाले गरेको सहयोग अतुलनीय रहेको बताए।

उनले जग्गा उपलब्ध गराउन भूमिका खेलेको भन्दै नागार्जुन नगरपालिकालाई पनि धन्यवाद दिए। 

काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार निर्माण विभागका प्रमुख राम थापाले यो यो आर्थिक वर्षमा उक्त भवन निर्माणका लागि काठमाडौँ महानगरपालिकाले ६ करोड छुट्याएको जानकारी दिए।

Logo