झडपपछि रुपन्देहीको मोतीपुरमा कर्फ्यु

झडपपछि रुपन्देहीको मोतीपुरमा कर्फ्यु

केन्द्रबिन्दु
0
Shares

प्रहरी र सुकुम्वासीका नाममा जग्गा कब्जा गर्ने समूहबिचको झडपपछि रुपन्देहीको मोतीपुरमा उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले आज चार बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । प्रहरीले अस्थायी रूपमा बनाइएका टहरा भत्काउन खोज्दा झडप भएपछि स्थानीयवासीको सुरक्षालाई मध्यनजर गर्दै  कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासनले जनाएको छ । प्रशासनले पूर्वतर्फ बुटवल–१७ शिवनगरदेखि सौरहिया पुल तथा पश्चिमतर्फ हरिहरपुर, रानीगञ्ज बस्ती तथा वडा नं १८ को औद्योगिक कोरिडोरको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।  

प्रहरीले औद्योगिक क्षेत्रमा बनाइएका टहरा हटाउने क्रममा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडपका क्रममा प्रहरीले गोली चलाएपछि आज दिनभर सो क्षेत्रको स्थिति तनावपूर्ण बनेको थियो । बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठुलो सङ्ख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो । प्रशासनले तीन दिनदेखि राति टहरा भत्काइदिँदै आएको थियो तर त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीयवासी हट्न नखोजेपछि प्रहरीले आज बल प्रयोग गरेको हो । रासस

Logo