राष्ट्रपतिद्वारा पलाञ्चोक भगवतीको दर्शन, आजै उपत्यकाका शक्तिपीठहरूको पनि दर्शन गर्ने (फाेटाेफिचर)

राष्ट्रपतिद्वारा पलाञ्चोक भगवतीको दर्शन, आजै उपत्यकाका शक्तिपीठहरूको पनि दर्शन गर्ने (फाेटाेफिचर)

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको महाअष्टमीको दिन आज बिहान काभ्रेको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरिन्।  

पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उनले आज विहान करिब दश मिनेट पूजाअर्चना गरेकी हुन्। उनी बिहान १०ः३० बजे मन्दिर पुगेकी थिइन्। उनी राष्ट्रपति भएपछि यस मन्दिरमा गरेको पूजाअर्चना यो तेस्रो पटक हो। गत वर्ष कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण मन्दिरमा हुने आजापूजा रोकिएको थियो। 

राष्ट्रप्रमुखले बडादशैँको अवसरमा पलाञ्चोक भगवतीको दर्शन गर्ने परम्परा चलिआएको छ। राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, पनौती नगरप्रमुख भीम न्यौपाने, धुलिखेल नगरप्रमुख अशोककुमार ब्याञ्जू, बनेपा नगरप्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठ, पलाञ्चोक भगवती विकास तथा सेवा समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, पाँचखाल नगर उपप्रमख लक्ष्मी दनुवारलगायत स्थानीय जनप्रतिनिधिले स्वागत गरेका थिए। 

हेलिकप्टरमार्फत पाँचखालस्थित नेपाली सेनाको शान्ति तालिम केन्द्रमा अवतरण गरेकी राष्ट्रपतिलाई कडा सुरक्षाकासाथ करिब पाँच किलोमिटर दुरीमा अवस्थित मन्दिरसम्म पुर्याइएको थियो। 

करिब १७ सय वर्षअघि अर्थात् सम्वत् ४२५ मा मानदेव प्रथमको पालामा स्थापित पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवती दिदीबहिनीमध्ये पलाञ्चोक भगवती ठूली दिदी हुन् भन्ने लिच्छवीकालीन किंवदन्तीमा उल्लेख भएको पाइन्छ। यो मन्दिरमा विशेष गरी दशैँ, माघे–सङ्क्रान्ती र वैशाख पूर्णिमामा भक्तजनको घुइँचो हुने गर्दछ। 

राष्ट्रपतिले आजै उपत्यकाका शक्तिपीठहरूको दर्शन गर्ने 

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार काठमाडौँ उपत्यकाका शक्तिपीठहरूको दर्शन गर्ने भएकी छन्। 

बडादसैँका महाअष्टमीको दिन पारेर बुधबार राष्ट्रपति भण्डारीले शक्तिपीठहरूको दर्शन गर्न लागेकी हुन्। उनले बुधबार अपरान्ह ४ बजेबाट शक्तिपीठहरूको दर्शन गर्ने समय तालिका रहेको छ। 

राष्ट्रपति भण्डारीले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महांकाल, संकटा, नरदेवी इन्द्रायणी र शोभा भगवतीको दर्शन गर्न लागेकी हुन्। रासस 

तस्बिरः रासस

Logo