थारू गाउँमा सखिया नाचको रौनक

थारू गाउँमा सखिया नाचको रौनक

केन्द्रबिन्दु
0
Shares

पश्चिम थरुहटको थारू गाउँमा अहिले सखिया नाचको रौनक छ ।

रातो ब्लाउज, सेतो गुन्यूमा सजिएका थारु बठिन्या (युवती)हरु मादलेको  तालमा गीत गाउँदै हातको मुजुरा एक आपसमा ठोक्काउँदै नाच्छन् । गाउँको घरसंख्या अनुसार नर्तकीहरूको संख्या पनि बढी, थोरै हुने गर्छ । 

सखिया थारूहरूको दशैँ तथा दीपावलीमा नाचिने नृत्य हो । दशैँ आउनु दुई साता अघिदेखि रातीको खानापछि सखिया गीत सिकाउने मोह्रिन्या (गुरुमा) को घरमा सखिया नाच्ने टोलीका सदस्यहरू गीत सिक्छन् । दशैँँ शुरु भएपछि दिन डुबेसँगै अर्थात् गोधुली साँझपछि गाउँको अगुवा (महटाँवा) को आँगनमा खास गरी एकैजसो पोशाकमा ठाँटिएर गाउँका थारू युवतीहरू जम्मा हुन्छन् । 

सखियामा मादलेहरू आफ्नो मादलमा झप्कनले सजाएर टोपी, गम्छा, कमिज, कछार लगाएका हुन्छन् । नर्तकीहरू सेतो रिवन, रातो झोवन्हा, रातै ब्लाउज तथा सेतो ठेठवा (लुँगी जस्तो पहिरन) एकै किसिमको पहिरन लगाएका हुन्छन् । ठेठवा अड्याउन कम्मरमा बाँधिने पेटी तथा खुट्टाको चप्पल भने फरक फरक हुन्छ । 

पैँया मूलतः गीतहीन सामूहिक नृत्य हो । तर केही गीति पैँया पनि पाइन्छ । त्यस्तो पैँयालाई गिडाहा पैँया भनिन्छ । कुनै कुनै पैँया गीत त श्रृङ्खलित आख्यानमा उनिएको हुँदा त्यस्ता पैँया गीतलाई लोकगाथाको कोटिमा पनि राखिएको छ । पैँया गीत अनेक बिषयबस्तुमा रचिएको पाइन्छ । यसमा रामायण, महाभारत तथा लौकिक जीवनका आख्यान पनि भेटिन्छन् । 

अशोक थारूका अनुसार (२०६३ः ६०) सखिया शब्दको प्रार्दुभाव बज्र भाषाको ‘सखी आ !’ शब्दबाट भएको हो । स्मरणीय छ, कान्हाले द्रौपदीलाई समेत सखी भन्थे भने राधा त कान्हाकी सबैभन्दा प्रिया सखी थिइन् । त्यसैले, थारू कान्हाहरू थारू लोक राधाहरूलाई बोलाउँछन्, ‘ओ सखीहरू ! आउ न आजको यस खुसीको अवसरमा नाचौं, गाऔ र एक अर्कामा लीन होऔ ।’ यसरी ‘सखी आ’ भन्दा भन्दै यस लोकनृत्य अर्थात् उत्सवको नाम नै संक्षिप्तमा सखिया हुन आएको हो ।

जगदीश नारायण सिंह निर्भिकका अनुसार (१९९२ ई.ः १३९) सखिया नृत्यको परम्पराको उद्भवमा मध्यकालीन वल्लभीय प्रभाव हुन सक्छ । जनश्रुतिअनुसार घमण्डी देवले कान्हाका सखी ललिताका गाउँका केटाहरूलाई अभिनय गर्न सिकाएका थिए । अकवरी दरवारका नृत्यकार बल्लभ बृन्दावन पुगेर तिनलाई नृत्यको शिक्षा दिएका थिए । सखियाको पृष्ठभूमिमा यस किसिमको अन्तर्कथा सम्भव छ । सखियाको पृष्ठभूमि रास नृत्य हो ।

सखिया नाचमा मादलको ताल २२ ख्वाँट (चरण) हुने गरेकोमा सोही अनुसार पैँया पनि नाचिन्छ । ‘मोह्रिन्या’ मात्रै होइन, मादल बजाउन सिपालु मादलेहरू पनि हराउँदै गएकाले पैँयासँगै ख्वाँट पनि हराउँदै गएको छ । बर्दिया मयुरबस्तीका गीतकार एवं सङ्गीतकार सुशील चौधरी सखियाको बाइस ख्वाँट (ताल) र पैँयाबारे जानकार छन् । उनी भन्छन्, ‘थारु नाचको मादलको तालबारे तालिम जरुरी छ ।’

तस्विरः मेनका चौधरी, रासस

Logo