छुट्टी भएपछि हाइकिङ गरेँ, श्रीमान् र सासूसँग दसैँ मनाउँछु : न्यायाधीश मल्ल

छुट्टी भएपछि हाइकिङ गरेँ, श्रीमान् र सासूसँग दसैँ मनाउँछु : न्यायाधीश मल्ल

केन्द्रबिन्दु
0
Shares

दुई वर्ष कोभिड १९ संक्रमणको महामारीले मनाउन नपाएकाले अलिकति भए पनि मनाउन पाउँदा यसपालि दसैँ विशेष छ । अवसरजस्तो भएको छ । हामी अदालतको कर्मचारी, न्यायाधीशहरू दसैँमा पनि कामै गर्ने हो । दसैँमा पनि ड्युटी त छँदैछ । फैसला लेखनको कार्य पनि बाँकी नै रहेकाले सक्नुपर्नेछ । दसैँ बुढो सासूसँग बसेर काठमाडौंमै मनाउने योजना छ । घुमघाम भइरहेको छ । छुट्टी भएपछि हाइकिङ सुरु गरेको छु ।

विष्णुमतीको मुहानमा ढुंगैढुंगामा चढेर हिँडेर पुग्दा रमाइलो लाग्यो । अनी गुम्बा पनि जाने योजना छ । काठमाडौंकै छेउछाउ घुम्ने ठाउँ धेरै छ । शनिबार नै कुर्न परेन । दसैँ विदाले यो अवसर पनि जोडेको छ । मठ मन्दिरमा जाने समय पनि मिलेको छ । यसपालिको दसैँमा भेटघाट, घरमा पूजापाठ, नेवारको फेरि भोजभतेर, सपरिवार खानपिन गर्ने, टीका थाप्ने, टीका लगाइदिने, नजिकै घुम्ने त्यहीँ नै कार्यक्रम छ । मैले सासूबाट टिका थाप्छु । अनि अरूलाई लगाइदिने हो । कोही शुभचिन्तक आउनुभयो भने शुभकामना र आशीर्वाद लिने/दिने यसै गरी मनाइन्छ ।

फैसला लेखनको धेरै काम भएकाले यसपालि अन्य पुस्तकहरू अध्ययन गर्ने समय छैन । मुद्दा र फैसला लेखनसँग जोडिएका रिलेभेन्ट किताबहरू, आर्टिकलहरू पढिरहेको छु । कानुनहरू समयानुसार परिवर्तन हुँदैछन् । तर हामी पुरानो जुरिसप्रुडेन्सलाई मात्र आधार मान्छौँ ।

जस्तो रेफ केसमा परम्परागत मेडिकल जुरिसप्रुडेन्समा पनि फरक दृष्टिकोणबाट कसरी अगाडि जाने भन्ने कुरासँग सम्बन्धित आर्टिकलहरू पढिरहेको छु । चाडपर्वलाई मैले संस्कृतिका रूपमा लिन्छु । जोडिने, विविधतामा एकता ल्याउने आधारका रूपमा हेर्छु । मान्छेको फरक धर्म, भाषा, जाति होला, तर यो चाडपर्वले हामी सबैको संस्कृति एउटै हो । किनभने संस्कृति पनि एउटा एकतामा बाँध्ने आधार हो ।

Logo