चार सडकआश्रितको उद्धार

चार सडकआश्रितको उद्धार

केन्द्रबिन्दु
0
Shares

‘यसपालिको दसैँमा, कोही नरहुन् सडकमा’ भन्ने आदर्श वाक्यसहित मानवसेवा आश्रमले दसैँका बेला चलाएको अभियानका क्रममा चार सहयोगापेक्षी सडकआश्रित मानिसको उद्धार गरिएको छ ।

यहाँस्थित आश्रमकी संयोजक सुमिरा लामाका अनुसार दुई दिन चलेको उद्धार अभियानमा छ जनाको उद्धार गरिए पनि दुई बालक पछि आश्रमबाटै भागे । उनीहरू सदरमुकामका सडकमा बेवारिसे अवस्थामा फेला परेका थिए ।

नवरात्रको फूलपातीदेखि टीकाको भोलिपल्टसम्म उद्धार अभियानलाई निरन्तरता दिने भनिए पनि दसैँमा अभियन्ता र अभिभावकको व्यस्तताका कारण सुरुका दुई दिन मात्र उद्धार अभियान सञ्चालन गरिएको थियो ।

दसैँको मुखमा सहराविहीन भई सडकमा आश्रय लिइरहेका सहयोगापेक्षी मानिसलाई उद्धार गरी आश्रममा ल्याइएको संयोजक लामाले बताए। उनीहरूको अहिले आश्रममा हेरचाह र उपचार भइरहेको छ ।

आश्रमले दसैँमा कोही पनि मानिस गाँस र बाँस नपाएर सडकमा रहन नपरोस् भनेर सामूहिक उद्धार अभियान चलाएको हो । चाडबाडबाहेकका बेला हुने नियमित उद्धार कार्य भने निरन्तर चलिरहने आश्रमले जनाएको छ । पछिल्लो अभियानबाट थपिएका चारसँगै अहिले आश्रममा रहेकाको सङ्ख्या ५१ पुगेको छ ।

आश्रमले बेसहारा, अशक्त, असहाय र अभिभावविहीनको उद्धार तथा संरक्षण गर्दै आएको छ । आश्रमको शाखा यहाँ आएपछि हालसम्म १२५ जनाको उद्धार गरिएको जनाइएको छ ।

विसं २०७२ मा खुलेको आश्रमले अहिलेसम्म १६ जना सडकआश्रितलाई पारिवारिक पुर्नमिलन गराएको छ । ‘हाम्रो चाहना ः सबैका लागि खाना, नाना र छाना’ भन्दै मानवता प्रवद्र्धन महाअभियानमा सक्रिय रहेको आश्रमले नेपाललाई सडक मानवमुक्त बनाउने लक्ष्य लिएको छ ।

बागलुङलाई पनि ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त जिल्ला’ घोषणा गर्ने आश्रमको तयारी छ । आश्रममै टीका दसैँ मनाउन धेरैलाई घर जाने चटारो पर्छ तर सहराविहीनका लागि आश्रम नै पवित्र घर बन्न पुग्छ । संयोजक लामा र अन्य अभियन्तालाई चाडपर्व आउँदा आश्रमका सहयोगापेक्षीलाई कसरी खुशी दिने भन्ने कुराले झक्झकाउँछ ।

अलपत्र र दिनःदुखीलाई मिठोमसिनो खुवाउने, राम्रो लुगा लगाइदिने, रमाइलो वातावरण सिर्जना गरिदिने ध्याउन्न उनीहरूमा हुन्छ । यसपालिको दसैँमा पनि आश्रमभित्रै टीकाटालोको कार्यक्रम गरिएको संयोजक लामाले बताए।

“वडाध्यक्ष र आश्रमका अभिभावकले सहयोगापेक्षीहरूलाई टीका लगाइदिनुभयो, एकापसमा शुभकामना आदानप्रदान गरियो”, संयोजक लामाले भने । रासस

Logo