डडेलधुरामा १ सय ७९ लिटर मिलिमिटर वर्षाः बेमौसमी वर्षाले अधिक क्षति गर्ने विज्ञको भनाइ

डडेलधुरामा १ सय ७९ लिटर मिलिमिटर वर्षाः बेमौसमी वर्षाले अधिक क्षति गर्ने विज्ञको भनाइ

केन्द्रबिन्दु
0
Shares

आइतबार रातीदेखिको बर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । 

मनसुन बाहिरिदै गर्दा बंगालको खाडीमा उत्पन्न भएको न्यूनचापीय अवस्था र अफगानिस्तानमा पश्चिमी वायुको प्रभाव विकसित भएपछि त्यसको प्रभाव नेपालको पश्चिमी क्षेत्रमा बढी परेको हो । 

नेपालको पश्चिम क्षेत्रमा यस बर्षको बर्षायाममा भन्दा बढी बर्षा हुनुको साथै हावा हुरी पनि आएको छ । बर्षाले थन्काउने बेलाको धान नै पानीले डुबाएको छ । एक दुई दिनमै धान भित्र्याउने बेलामा वर्षाले धानबाली नष्ट गरेपछि किसानहरु वर्ष दिनसम्म के खाने भन्ने चिन्तामा डुबेका छन् । 

उत्तरतर्फ सरिरहेको मौसमी प्रभावले देशका सूदुरपश्चिम, कर्णाली र गण्डकीमा केही अधिक र अन्य प्रदेशका केही स्थानमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौं उपत्यकामा आईतवार रातिदेखि नै मौसम बदली हुनुका साथै केही स्थानमा वर्षा भइरहेको छ । यो क्रम मंगलवारसम्म पनि जारी रहने महाशाखाले जनाएको छ । 

मनसुन सकिने बेला बाढी पहिरो आउने गरी वर्षा हुनुलाई विज्ञहरुले जलवायु परिवर्तनको असर भनेका छन् । मनसुन सकिएपछि हुने अप्रत्यासित वर्षाले धेरै मानवीय र भौतिक क्षति गराउने सम्भावना रहने विज्ञहरुले बताएका छन् ।

यसै सन्दर्भमा जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले मनसुनपछि हुने वर्षाले धेरै क्षति गर्ने बताए। यस बर्षको मनसुन जुन ११ मा सुरु भएर अक्टोबर ११ मा बाहिरीएको थियो । सेप्टेम्बर २३ मा मनसुन बाहिरिनुपर्ने भएपनि केही बर्षदेखि सिप्ट भईरहेकाले नेपालले अक्टोबर २ लाई मनसुन बाहिरिने मिति तोकेको छ । तर एक साता बढी ढिला गरी नेपालबाट मनसुन बाहिरिएको थियो । 

मनसुन बाहिरिने प्रक्रिया संगै बंगालको खाडीमा न्यून चापीय अवस्था सिर्जना हुनु र अफगानिस्तानमा विकसित पश्चिमी वायुको प्रभावका कारण मनसुन सकिएपछि पनि वर्षा भएको विज्ञ उप्रेती बताउँछन् । 

मनसुन सकिएपछिको बर्षाका कारण सुदूरपश्चिमका विभिन्न क्षेत्रमा बाढी र पहिरोको घटनाको समाचार आउन थालेको छ । 

छिमेकी राष्ट्र भारतले उत्तरप्रदेश र उत्तराखण्ड राज्यमा रेड अलर्ट जारी गरिसकेको छ । त्यहाँ २ सय मिलिमिटर भन्दा बढी बर्षा हुने आँकलन गरिएको छ । 

यस्तै नेपालको पश्चिम क्षेत्र डडेलधुरामा गत २४ घण्टामा १ सय ७९ लिटर मिलिमिटर वर्षा भइसकेको छ । यो भारतको आँकडासँग मिल्दोजुल्दो छ । यो अवस्था जलवायु परिवर्तनको असर सँग जोडिने विज्ञ उप्रेतीले बताए । 

नेपाल सरकारसँग मौसमजन्य विपद्को पूर्वसूचना चुस्त दुरुस्त नभएका कारण यस्ता वेमौसमी बर्षा लगायतका विपद्को क्षति न्यूनीकरण गर्न नसकिएको उप्रेतीको भनाइ छ । उनले सूचना प्रणालीलाई सरकारले नै उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

जलवायु जन्य विपद्का घटना र पूर्वतयारी तथा क्षति न्यूनीकरणका लागि अपनाउनुपर्ने सतर्कतालगायत विषयमा अन्तरदेशीय सूचना सञ्चार बढी प्रभावकारी हुने गरेको उनले उल्लेख गरे । 

तर अन्तरदेशीय सूचना सञ्चार प्रभावकारी हुन नसक्दा पनि विपद् पूर्वको सूचना प्राप्ती चुनौतीपूर्ण बनेको उनको भनाइ थियो । डा उप्रेती अन्तरदेशीय सूचना सञ्चारमाथिको पहुँच विस्तारमा राजनीतिक तहमा नै प्रयास गरिनुपर्ने तर्क गर्छन् ।

Logo