नवनियुक्त मन्त्री तथा कर्मचारीहरु दसैँ मानेर आएनन्, सिंहदरवार भयो सुनसान

नवनियुक्त मन्त्री तथा कर्मचारीहरु दसैँ मानेर आएनन्, सिंहदरवार भयो सुनसान

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त मन्त्री तथा कर्मचारीहरु दसैँ मानेर बाहिरी जिल्लाबाट नफर्किदा सिंहदरवार सुनसान बनेको छ । 

दसैँ सकिएर सरकारी कार्यालयहरु खुले पनि सिंहदरवार आफ्नो लयमा फर्किन सकेको छैन । 

प्रधानमन्त्री नियुक्त भएको करिव ३ महिना पुग्नै लाग्दा असोज २२ गते प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । उसैपनि मन्त्रालयमा मन्त्री नहुँदा र मन्त्रीको अनुपस्थितिमा काम हुन नसक्दा मन्त्रीलाई भेट्न जाने राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणको भीड ३ महिना अघिदेखि नै शुन्यप्रायः थियो । 

असोज २२ गते मन्त्रिपरिषद् बिस्तार भएसँगै सिंहदरवारमा चहलपहल बढ्नुको सट्टा चहलपहल घट्दै गइरहेको थियो । किनकी दसैँ प्रारम्भ भइसकेको अवस्था थियो । 

मन्त्री नियुक्त हुनासाथ मन्त्रीहरु मन्त्रालय बाहिर नै दसैंको शुभकामना आदान प्रदानमा ब्यस्त देखिन्थे भने कतिपय मन्त्री त कार्यभार सम्हालेलगत्तै आफ्नो निर्वाचन जिल्ला तथा क्षेत्रमा गएकोले पनि सिंहदरवारमा मन्त्री तथा कर्मचारीहरु त्यत्ति देखिन सकेका छैनन् । यसले  सिंहदरवार सुनसान हुन पुगेको हो ।

मंगलवार पनि सिंहदरबारमा मानिसहरुको आवत् जावत् निकै कम देखिएको छ । सरकारी कामकाज शुरु भइसक्दा पनि दसैँ विदामा गएका कर्मचारीहरु फर्किइसकेको अवस्था छैन भने मन्त्रीहरु पनि अझै शुभकामना आदान प्रदानमै दौडिरहँदा मन्त्रालयमा आउने सेवाग्राही तथा सर्वसाधारणको भीडभाड घटेको हो । हाल मन्त्रालयमा सीमित कर्मचारीहरुलाई मात्रै देख्न तथा भेट्न सकिन्छ । 

यता पछिल्लो दुई दिनदेखि देशभर वर्षा हुँदा कतिपय जिल्लामा सडक बिग्रिएका कारण राजधानी फर्किनेहरु सहजै, समयमै राजधानी काठमाडौं फर्किन सकिरहेका छैनन् । यसले पनि सिंहदरवार जानेहरुको संख्या घटाएको छ । दैनिक हजारौँको संख्यामा मानिसहरु सिंहदरवार प्रवेश गर्ने भएपनि अहिले फाट्टफुट्ट मात्रै मानिसहरु र सवारी साधनहरु देख्न सकिन्छ ।

बुधवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय लगायतका मन्त्रालयको अवस्था हेर्दा कर्मचारी तथा सेवाग्राहीहरुको संख्या न्यून मात्रामा देखियो भने कतिपय मन्त्रालयमा मन्त्रीको समेत अनुपस्थित रहेको पाइयो । 

यसरी लामो समयपछि सिंहदरवारले सबै मन्त्री पाउँदा समेत सेवाग्राही र राजनीतिक दलका नेता, कार्यकर्ताहरु सिंहदरबार प्रवेश गर्न पाएका छैनन् भने मन्त्रालयहरुले मन्त्री पाएसँगै चाडवाड शुरु भएपछि महत्वपूर्ण कामहरु समेत गर्न सकिरहेको छैन ।

Logo