कुकुरको टोकाइबाट खोटाङमा एकै दिन १५ जना घाइते

कुकुरको टोकाइबाट खोटाङमा एकै दिन १५ जना घाइते

केन्द्रबिन्दु
0
Shares

खोटाङमा एकै दिन १५ जनालाई बेवारिसे कुकुरले टोकेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारमा शनिबार १५ जनालाई बेवारिसे कुकुरले टोकेको हो। 

कुकुरको टोकाइबाट घाइते भएकामध्ये दुई जनालाई शुक्रराज सरुवा रोग अस्पताल टेकु रेफर गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. बैभव मल्लिकले बताए। अन्य १३ जना भने हप्ता दिनभित्र तीन डोजको एन्टीरेविज खोप लगाउने गरी पहिलो खोप लगाएर फर्किएका छन्।

‘ग्रेड थ्री’ अर्थात कुकुरको टोकाइबाट गहिरो घाउ लागेका कारण दुई जनालाई भ्याक्सिन दिएर अन्यत्र रेफर गरिएको हो। एकै दिन १५ जनालाई कुकुरले टोकेपछि साविकको सदरमुकाम दिक्तेलबजारमा कुकुर आतंक फैलिएको छ। 

कुकुरले दिक्तेलको रत्नपार्कबाट हाटडाँडासम्म कुददै टोक्दै गरेको प्रत्यक्षदर्शीले बताएका छन्। रत्नपार्क क्षेत्रमा सबैभन्दा बढी कुकुरले टोकेको छ। कुकुरले अस्पताल चोकमासमेत एक जनालाई टोकेको छ। ‘ग्रेड टु’ अर्थात कुकुरको टोकाइबाट छालामा चोट लागेका घाइतेलाई खोप हप्ता दिनभित्र तीन डोज खोप दिनुपर्ने हुन्छ। तर ‘ग्रेड वन’ अर्थात कुकुरको टोकाइबाट छालामा चोट नलागेका घाइतेलाई भने सामान्य सरसफाई गरे पुग्ने डा. मल्लिकले बताए।

डाक्टरकाअनुसार ‘ग्रेड थ्री’मा पर्ने घाइतेको घाउ वरपरको भाइरस नष्ट गर्नका लागि अर्को थरीको भ्याक्सिन हाल्नुपर्ने हुन्छ। जसका लागि धरान वा काठमाडौं पुग्नु पर्ने हुन्छ।

जिल्लाका लागि रेविजविरुद्धको मासिक दुई सय भाइल खोप आउने गरेको छ। पछिल्लो समय दैनिक दुई/तीन जना कुकुरले टोकेका घाइते उपचारमा आउने गरेको जिल्ला अस्पतालले जनाएको छ।

Logo