यात्रुबाट तोकिएभन्दा बढी लिइएको भाडा प्रहरीले फिर्ता गरायो

यात्रुबाट तोकिएभन्दा बढी लिइएको भाडा प्रहरीले फिर्ता गरायो

केन्द्रबिन्दु
0
Shares

खोटाङमा तोकिएभन्दा बढी भाडा असुल गर्ने सुमो व्यवसायीबाट प्रहरीले भाडा फिर्ता गराएको छ।

हलेसीबाट काठमाडौं जानेक्रममा नौ यात्रुबाट जनही दुई हजारका दरले भाडा उठाएको ना. १ ज. ५४४५ नम्बरको सुमो चालकबाट भाडा फिर्ता गराइएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ।

हलेसीबाट काठमाडौं एकतर्फी आवतजावतका लागि जनही एक हजार तीन सय भाडा निर्धारण गरिएको भए पनि सुमोको हलेसीस्थित काउण्टरबाट जनही दुई हजारका दरले भाडा उठाइएको यात्रुको गुनासो छ। आफूहरुबाट तोकिएभन्दा बढी भाडा लिएको भन्दै यात्रुले इलाका प्रहरी कार्यालय हलेसीलाई फोनमार्फत गुनासो पोखेपछि बाटोमा पर्ने प्रहरी चौकी च्यास्मीटारले सुमो रोकेर बढी भाडा फिर्ता गराएको हो। अधिक भाडा लिइएको शंका लागेपछि प्रहरीलाई खबर गरेको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङकी यात्रु सरिता राईले बताइन्। 

तोकिएभन्दा सात सय बढी भाडा लिएका काउण्टरले यात्रुलाई टिकट उपलब्ध नगराएको जनाइएको छ। सहमतिमै भाडा लेनदेन भएको काउण्टरका कर्मचारीको प्रतिक्रिया छ। दशैं तिहारका बेला आवतजावत गर्ने यात्रुबाट बढी भाडा लिइएको विषयमा चेकजाँचका लागि सडक आसपासका प्रहरी चौकीलाई निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर शाहले बताए। 

Logo