अमेरिकाबाट हैजाविरुद्धको दुई लाख ५२ हजार डोज खोप आइपुग्यो

अमेरिकाबाट हैजाविरुद्धको दुई लाख ५२ हजार डोज खोप आइपुग्यो

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणका लागि अमेरिकाबाट ‘ओरल कलेरा भ्याक्सिन’ नेपाल ल्याइएको छ। आइतबार दुई लाख ५२ हजार ३६३ डोज हैजाविरुद्धको खोप काठमाडौं आइपुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा युनिसेफ र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले मन्त्रालयका सचिव डा.रोशन पोखरेललाई हैजाविरुद्धको खोप हस्तान्तरण गरेका छन्। युनिसेफका नेपाल निर्देशक इल्केविस र विश्व स्वास्थ्य सङ्गठनका खोप प्रमुख डा. विनोद बुराले सचिव पोखरेललाई खोप हस्तान्तरण गरेका हुन्।

सनोफी हेल्थ केयर इन्डिया प्रालिले बनाएको उक्त खोप विश्व स्वास्थ्य सङ्गठन, गाभी र युनिसेफको सहयोगमा नेपाल आएको हो। गएको १८ असोजदेखि कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणमा नआएपछि सरकारले अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेको थियो। हैजाबाट कृष्णनगरमा सयौं बिरामी परेका छन् भने सात जनाको मृत्युसमेत भइसकेको छ।

हैजाबाट कपिलवस्तुको कृष्णनगर नगरपालिका ७, ८ र ९ नम्वर वडा बढी प्रभावित भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए। त्यहाँका बिरामीमा अहिले पनि झाडापखाला र बान्ताको समस्या नियन्त्रणमा आइसकेको छैन। प्रवक्ता पौडेलले आगामी आइतबारदेखि कृष्णनगरसहित कपिलवस्तुका पाँच स्थानीय तहका नागरिकलाई खोप खुवाइने जानकारी दिए। पहिलोपटक हैजाविरुद्धको खोप दिन लागेकाले स्वास्थ्यकर्मीलाई तालिम दिएपछि मात्रै खोप खुवाइने पौडेलले बताए।

कपिलवस्तुको हैजा प्रभावित क्षेत्र कृष्णनगरमा ६० हजार ७४३ जना, महाराजगञ्जमा ५३ हजार १५६ जना, शिवराजमा ६४ हजार ७७८ जना, विजयनगरमा ३५ हजार ९०३ जना र यशोधरामा ३७ हजार ७८३ जना गरी दुई लाख ५२ हजार २ ६३ जनालाई हैजाविरुद्ध खोप खुवाउने सरकारको तयारी छ। यो खोप एक पटक लगाएपछि पाँच वर्षसम्म हैजाबाट सुरक्षित रहन सकिने विभिन्न अध्ययनले देखाएको पौडेलले जानकारी दिए।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले हैजा प्रभावित क्षेत्रका एक वर्षदेखि माथिका सबै नागरिकलाई खोप दिइने बताए। ‘मंसिर ५ गतेदेखि यशोधरा गाउँपालिकाबाट खोप अभियान सुरु गर्ने तयारी गरेका छौँ,’ उनले भने, ‘अन्य चार स्थानीय तहमा मंसिर ७ गतेदेखि खोप अभियान सञ्चालन हुनेछ।’

Logo