जुरे पीडितको नाममा संकलित रकम ८ वर्ष हुँदा पनि सरकारी खातामै

जुरे पीडितको नाममा संकलित रकम ८ वर्ष हुँदा पनि सरकारी खातामै

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोकको जुरेमा २०७१ सालमा आएको पहिरोमा परी एक सय ४५ जनाले ज्यान गुमाए। संयोगले बाँचेकाहरू अहिले दुःखको जिन्दगी कटाइ रहेका छन्। जुरे पीडितलाई पनि भूकम्प पीडित सरह मानेर सरकारले आवास निर्माणको लागि तीन लाख दिएको छ।  

जुरे पीडितको नाममा संकलित २ करोड २४ लाख रकम ८ वर्षसम्म  सरकारी खातामा रोकिएको छ। पीडितले भने आवास निर्माणको लागि भूकम्प पीडित भनेर पाएको तीन लाखले सरकारी जग्गामा घर बनाएर बस्नु परेको छ। पीडित भन्छन्, 'हाम्रो लागि उठेको पैसा सरकारी खातामा छ। हामी सरकारी जग्गामा घर बनाएर बस्नु परेको छ।'

बाह्रबिसे नगरपालिका-५ राम्चेकी ठूली तामाङ जुरे पहिरोमा परी घाइते भइन्। उनी अहिलेसम्म पनि राम्रोसँग हिँडडुल गर्न सक्दैनन्। ६ महिनाको उपचारपछि राम्चे फर्किएर उनले सरकारी जग्गामा टहरा बनाएकी छन्। तर, सरकारले पीडितको व्यवस्थापनका लागि संकलन भएको रकम वितरण नगर्दा आफ्नो नामको जग्गामा घर बनाउन नसकेको उनी बताउँछिन्।

जुरे पहिरोमा लामोसाँघुका सुवास तामाङले परिवारका सबै सदस्य गुमाए। त्यस यता उनी छिमेकीको आश्रयमा बसिरहेका छन्। सरकारले जुरे पहिरो पीडितलाई एकीकृत बस्ती बसाउने, जग्गा उपलब्ध गराउने आश्वासन दिए पनि काम भएको छैन।  

जुरे पहिरोका कारण १ सय ४५ जनाको मृत्यु भएको थियो भने सय माथिका परिवार विस्थापित भएका थिए। कोही जग्गा किनेर वा राजधानी पसेर बसेका छन् तर पहिरोमा परी सर्वस्व गुमाएका जुरे पहिरो पीडित २५ परिवार अहिले पनि सरकारी जग्गामा टहरो हालेर बसेका छन्। सात वर्ष अघि नै वितरण हुनुपर्ने रकम समयमै वितरण हुन नसक्दा पीडित अन्योलमा परेका छन्।

Logo