समाजको हिरासतमा रहेको एउटा भव्य घर, जसको छुट्टै छ भित्री कथा

समाजको हिरासतमा रहेको एउटा भव्य घर, जसको छुट्टै छ भित्री कथा

केन्द्रबिन्दु
0
Shares

बर्दिबास नगरपालिका–१४ स्थित सुभम बस्तीमा जाने गल्लीको अलि पर पुगेपछि दायाँतर्फ देखिने एउटा भव्य घरले जोकोहीलाई झसङ्ग बनाउँछ। घर नजिकै गएपछि भित्र खरानी नै खरानी छ। मानाैँ यो मुर्दाघर हो, जहाँ दाहसंस्कारको लागि यही घरलाई प्रयोग गरिन्छ। 

अगाडिपट्टी दुईवटा सटर छन्। सटरभित्र जलेका बोतल र सिसाहरू देखिन्छन्। दिउँसै अँध्यारो र भग्नावशेष देखिने यो घर किन यति डरलाग्दो छ? वस्तीको बीचमा पनि यो घरले वरपरका मानिसलाई त्रसित बनाइरहेको ? यो घरबाट आवतजावत गर्ने जोकोहीमा यस्तै विभिन्न प्रश्न उब्जन्छ।

तर,  घरको दायाँबायाँ ठूला अक्षरले लेखिएको छ–यो अपराधीको घर हो। यो घर किनबेच गर्न पाइँदैन। बर्दिबास सहरको व्यस्त गल्लीमा एक्लिएको यो भव्य घर अरुण साहको हो, जसले पाँच वर्षीया बालिका गुलावसा खातुनको एक वर्षअगाडि बलात्कारपछि हत्या गरेका थिए।

साह कानुनअनुसार जेलमा आजीवन सजायँ भोगिरहेका छन्। साह जेल सजायँ भुक्तान गरिरहँदा उनको घर, परिवार नै घृणा र आक्रोशको सिकार बनेका छन्।

मंसिर २०७७ मा साहले पाँच वर्षीया बालिकालाई यही घरमा हत्या गरेर बोरामा हालेर बाहिर फ्याँकेका थिए। सोहीबेला स्थानीयहरूले यो घरमा आगो लगाए, साहको सम्झना हुन लायक सम्पूर्ण सामानहरू ध्वस्त बनाइदिए। त्यसपछि यो घर रित्तो बन्यो।

करिब १० धुर जग्गामा बनेको यो घरको अगाडि र पछाडि अपराधीको घर हो भनेर लेखेको देखेपछि साहसँगै यो घरले पनि उस्तै सजायँ भोगिरहेको छ। 

साहको अपराधको कारण उनको परिवारका सदस्यसमेत विस्थापित भएका छन्। घरको प्रत्येक तल्लामा स्थानीयहरूले आगजानी गरेको खरानीका थुप्रोबाहेक केही  छैन। साहले घरमा किराना पसल राखेका थिए।

सोही पसलमा चक्लेट किन्न गएकी बालिका गुलावसा खातुन एक्कासि हराएकी थिइन्। हराएको तीन दिनपछि घरनजिकै मृत अवस्थामा भेटिएको केही घण्टामा नै प्रहरी हिरासतमा आफैँले हत्या गरेको उनले स्वीकारेका थिए। 

अपराध गर्ने जोकोहीले कानुनको भागीदार मात्र हैन सामाजिक आक्रोश र सामाजिक सजायँको पनि भागीदार बन्नुपर्छ भन्ने ज्वलन्त उदाहरण बनेको छ, यो घर।

समाजको आक्रोश यसरी स्थापित भयो कि मानौँ  साहको सम्पती, जग्गाजमिन, परिवार,  सम्पूर्ण साहलाई अपराधमा उत्प्रेरित गर्ने तत्वहरू हुन्। अपराधीलाई समाजले नै सजायँ दिन पाउनुपर्ने भन्दै एक वर्षअगाडि बर्दिबास रणभूमिमा परिणत भएको थियो।न्युजकारखाना

Logo