पेस्तोलसहित भारतीय नागरिक पक्राउ (भिडियाे)

पेस्तोलसहित भारतीय नागरिक पक्राउ (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

सुनसरीबाट दुई थान अटोमेटिक पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा रहेको बि.एस.होटलबाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत विहार राज्यको अररिया जिल्ला बसमतिया २ बस्ने २४ वर्षीय हासिम अन्सारी र बसमतिया ६ घर भएका वर्ष ३५ का विद्यानन्द राम रहेका छन् । 

पक्राउ परेकाहरूको साथबाट प्रहरीले २ थान अटोमेटिक पेस्तोल, ३ राउण्ड गोली र ४ थान म्यागजिन बरामद गरेको छ। बरामद हतियार सहित पक्राउ परेका भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।

प्रहरीले होटलबाट भारतीय नागरिकले प्रयोग गरेको भारतीय नम्बर प्लेटको सुपर स्पेलेन्डर मोटरसाइकल समेत बरामद गरेको बताएको छ । प्रहरीले घटनास्थलबाट तीन राउण्ड गोली लोड रहेको एक थान र खाली म्यागजिन सहित अर्को थान गरी २ थान अटोमेटिक पेस्तोल बरामद गरेको हो। 

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले सुराकीका आधारमा छापामारीको लागि होटल पुगेको प्रहरी टोलीले हतियार सहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको बताए । सोधपुछको क्रममा भारतीय नागरिकले आफुहरु पेस्तोल बिक्री गर्न नेपाल आएको बयान दिएको प्रहरी उपरीक्षक थापाले बताए । 

पछिल्लो घटनाक्रमसँगै हातहतियारको कारोबार मा ठुलै गिरोहको संलग्नता रहेको हुन सक्ने आशंका सुनसरी प्रहरीले गरेको छ । सुनसरी प्रहरीले हतियार सहित पक्राउ परेका भारतीय नागरिकको हकमा हातहतियार तथा खरखजाना मुद्दामा कारबाहीको प्रक्रिया अघि बढाइएको बताएको छ । 

 

Logo