काठमाडाैंकाे चन्द्रागिरि लगायत देशका विभिन्न भागमा हिमपात, चिसोबाट बच्न प्रशासनको आग्रह

काठमाडाैंकाे चन्द्रागिरि लगायत देशका विभिन्न भागमा हिमपात, चिसोबाट बच्न प्रशासनको आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडाैंकाे चन्द्रागिरि लगायत देशका विभिन्न भागमा अहिले हिमपात भइरहेकाे छ। देशका उच्च पहाडि भाग र हिमाली भागमा हिमपात भइरहेकाे हाे। वर्षासहित भएकाे हिमपातले जनजीवन कष्टकर बनाएकाे छ। चिसाेबाट जाेगिन विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले अनुराेध गरिरहेका छन्।

जुम्लामा मंगलबार रातिबाट हिमपात भएको छ। हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ। जुम्ला प्रशासनले  चिसाेबाट बच्न न्यानाे भएर बस्न आग्रह गरेको छ।

जाडोका कारण जनजीवन कष्टकर हुने हुँदा झोलिलो खानेकुरा खान,अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएकाे प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले बताइन्।

'बालबालिका र बृद्धबृद्धालाई  न्यानो तथा  शरीर ढाक्ने गरी लुगा लगाउन सार्वजानिक सूचनामार्फत अनुरोध   गरिएकाे छ,' उनले भनिन्। प्रशासनले  कुनै घटना भएमा तत्काल नजिकैको प्रहरी चौकीमा  खबर गर्न पनि भनेकाे छ।

टिएमजे क्षेत्रमा बाक्लो हिमपात, जनजीवन प्रभावित

तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती क्षेत्र तिनजुरे, मिल्के र जलजले क्षेत्रमा बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ। मंगलबार राति वर्षासँगै हिउँका कारण जनजीवन प्रभावित बनेको हो। 

खासगरी हिउँका कारण बालबालिका र जेष्ठ नागरिक मारमा परेका छन्। यहाँका डाँडाकाँडा हिउँले ढाकेर सेताम्यै बनेका छन् भने करिब चार फिटसम्म हिउँ जमेको टुटेदेउरालीका श्री कार्कीले बताए।

उनका अनुसार चित्रे, बसन्तपुर, देउराली, तिनजुरे पाथीभरा, पाँचपोखरी, मंगलबारे, चौकी गुफा लगायत उच्च लेकाली क्षेत्रमा बाक्लो हिउँ परिरहेको छ।

‘बाक्लो हिउँ परिरहेकाले यहाँका नागरिकलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ। पशुचौपया चरनमा नै कति हराएका छन्। सडकमा सवारीसाधन गुड्नसमेत समस्या हुँदा यस क्षेत्रमा आएका पर्यटकहरु यात्रा गर्न झनै समस्या भएको छ,’ उनले भने।

घरको छानादेखि सडक, वनजंगल हिँउले ढाकेर सेताम्यै बनेका छन्। हिउँका कारण अत्यधिक चिसो बढेको छ। चिसोका कारण नागरिकलाई हिँडडुल गर्न समस्या भएको छ। 

यहाँका नागरिक आगो तापेर घरमै बस्नुको विकल्प नरहेकाे स्थानीय छिरिङ शेर्पाले बताए। यस क्षेत्रमा हिउँ पर्दा छिमेकी जिल्ला र तराईका विभिन्न जिल्लाबाट पर्यटक आउने गरेका छन्। तर, हिउँ परिरहेकोले यात्रा गर्न समस्या भएको छ।

खासगरी यहाँ पर्यटक हिउँ खेल्न र गुराँस फुल्ने सिजनमा गुराँसले रंगिएको वनमा रमाउने गरेका छन्। गुराँसको राजधानीको रुपमा चिनिएको तिनजुरे, मिल्के र जलजले पर्यटकीय रुपमा परिचित नाम हो।

दार्चुलाकाे ब्यासमा भारी हिमपात, जनजीवन कष्टकर

दार्चुलाको हिमाली क्षेत्र ब्यास गाउँपालिकामा भारी हिमपात भएको छ। मंगलबार रातिदेखि वर्षा र हिमपात हुँदा गाउँबस्तीसम्म हिउँ पुगेको सम्पाल माध्यमिक विद्यालय सुन्सेरा ब्यासका शिक्षक पदमराज भट्टले जानकारी दिए।

ब्यास गाउँपालिकाको कार्यालयभन्दा तल्लो क्षेत्रसम्म हिउँ पुगेको छ। हिउँ निरन्तर परिरहेकाे उनले बताए। हिमपातले चिसो अत्यधिक बढेपछि जनजीवन कष्टकर बनेको छ।

ब्यास गाउँपालिका-३ को सीना तुसरपानी, २ को राप्ला, दुम्लीङ, ४ को सुन्सेरा, डोकट, ५ को धौलाकोट र ६ को हुती लगायतका बस्तीमा हिउँ परेको छ। 

कालापानी नजिकको क्षेत्र वडा नम्बर १ छाङरु र तिंकरमा भारी हिमपात भएको छ। हिउँदमा भारी हिमपात हुने छाङरु र तिंकरका स्थानीय बासिन्दा मंसिर महिनामा नै दार्चुला सदरमुकाम खलंगा झरिसकेका छन्। तिंकर गाउँ हिउँदमा मानवविहीन हुने गरेको छ भने १२ किलोमिटर तल रहेको छाङरु गाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बाह्रैमहिना बस्ने गरेको छ। 

दार्चुलाका उच्च पहाडी क्षेत्रका बस्ती दुहुँ गाउँपालिकाको पिपलचौरी, हिकिला, मालिकार्जुनको न्वालपानी, शैल्यशिखरको बरमुडे लगायतका स्थानमा समेत हिमपात भएको छ।

बैतडीमा याे वर्ष पहिलाे पटक हिमपात, गहुँबाली सप्रिने आशा

बैतडीका उच्च लेकाली भेगमा भारी हिमपात भएको छ। पाटन नगरपालिकाको खोड्पे, अनारखोली, सुर्नया गाउँपालिकाको ढोल्यामोड, श्रीभाबर, सतबाँझ, बाँजपानी, सिगास गाउँपालिकाको गर्जे, बुरुसे, चौखाम लगायतका ठाउँमा मंगलबार राति देखि हिमपात भइरहेको हाे। हिमपात अहिले पनि जारी छ।

हिउँ पर्न थालेसँगै चिसो बढेकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन्। चिसोले बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने भएकाले ख्याल गर्न स्वास्थ्यकर्मीले सुझाएका हुन्।

वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन्। यो वर्ष समयमै हिउँ परेकाले गहुँ बाली सप्रिने आशा पलाएकाे पाटन नगरपालिका-९ का किसान नरबहादुर भण्डारीले बताए। बैतडीमा यो वर्ष पहिलो पटक हिमपात भएको हो।

Logo