नयाँ वर्षमा काठमाडौंवासीले मेलम्चीको पानी पिउन पाउँछन् ?, के भन्छन् खानेपानी मन्त्री?

नयाँ वर्षमा काठमाडौंवासीले मेलम्चीको पानी पिउन पाउँछन् ?, के भन्छन् खानेपानी मन्त्री?

केन्द्रबिन्दु
0
Shares

बाढीले क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्दै मेलम्चीको खानेपानी चैत महिनाभित्रै काठमाडौंवासीको धारामा पुर्‍याउने दाबी सरकारले गर्दै आएको छ। तर पुरिएको संरचनाबाट गेग्रान नझिकेसम्म यो सम्भव नभएको सरोकारवाला बताउँदैछन्। खोलामा कुलो जस्तो बनाएर मेलम्ची खानेपानी आयोजनाले पानी अस्थायीरुपमा सुरुङबाट सुन्दरीजल पठाएको छ। आयोजनाका प्राविधिकको असहमतिका बीच सरकारले जबरजस्ती पानी सुरुङमा पठाएकाले मेलम्चीको पानी फेरि अनिश्चितता तर्फ धकेलिने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ। तर खानेपानी मन्त्री उमाकान्त चौधरी यो मान्न तयार छैनन्। 
  
मेलम्ची खानेपानीको हेडबक्स बाँधस्थल हेलम्बुमा पुगेर मन्त्री चौधरीले सरकारले घोषणा गरे अनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्याएरै छाड्ने दोहोर्याए । उनले अहिले मेलम्चीको पानी काठमाडौं ल्याउने उद्देश्यसहित मुहान सफा गर्ने काम भइरहेको बताउँदै अघिल्लो सरकारले जस्तो निर्माण कार्य सम्पन्न नभई उद्घाटन गर्ने काम आफूले नगर्ने प्रतिवद्धता जनाए। अहिले अस्थायीरुपमा मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने योजना सरकारको छ। अहिले सुरुङ मार्गमा रहेको पानी निकालेर सफाइ गर्ने कार्य भइरहेको र मुहानमा ९० प्रतिशत सफाइको काम सकिएको मन्त्री चौधरीको दाबी छ। 

श्रीमती, छोराबुहारी र केही आफन्तसहित आयोजनास्थल पुगेका मन्त्री चौधरीले पानी सुरुङमा छाड्नुअघि श्रीमतीबाट पूजाआराधना गराएका थिए । सफाइको काम भइरहेको र सुरुङभित्रको एउटा गेट लेदोले ब्लक भएको जानकारी गराउँदै प्राविधिकले केही समय पर्खन आग्रह गरेपनि सो मान्न मन्त्री चौधरीको टोली तयार देखिएन। मन्त्री चौधरीको सो प्रयासमा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले साथ दिएका थिए। काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउने दायित्व हेलम्बु गाउँपालिकाको रहेपनि सो बापत हेलम्बुका जनतालाई २५ प्रतिशत पानी शुल्क भने तिर्नुपर्ने माग उनको छ। 

त्यस्तै, मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर पदमबहादुर कुँवरले भने मुहानबाहिरको काम सकिएको र अब सुरुङभित्र सरसफाइको काम भइरहेको जानकारी दिए। मुहानबाट टर्नेल सफा गर्न १७ नम्बर गेट खुल्ला गरेर काम अगाडि बढाएको बताउँदै उनले टर्नेलभित्र भएको लेदो सफा गर्न सबै गेट खोल्ने तयारी भएको उल्लेख गरे। गेट खोलेर टर्नेल सफा गर्दै ७ दिनमा मेलम्चीको पानी सुन्दरीजल पुर्याउने उनको दाबी छ। 

मेलम्चीमा गत असार १ गते आएको बाढीका कारण लेदो सुरुङभित्र पसेको थियो। सुरुङमा पसेको लेदो हटाउन अझै केही दिन लाग्नेछ। १७ नम्बरको ढोका खोलिसकेकाले  सुरुङमार्ग सफाइको काम अगाडि बढाएको छ। मेलम्चीमा १, ९, १७, ३८ र २१ गरेर पाँच वटा मुख्य गेट छन्। मुख्यतया पानी पठाउनका लागि आवश्यक पर्ने गेट ९, १७, २१ र ३८ नम्बर हुन् । यी मध्ये ३८ नम्बर गेट खुलिसकेको छ। बाढीको कारण मेलम्ची खानेपानी आयोजनाको हेडवक्सको संरचना २० देखि ३० फिटसम्म पुरिएको थियो। बाढीले हेडवक्स डाइभर्सन टनेल र अम्बाथान अडिट टनेल पनि गेग्रानमा पुरिएको थियो तर पनि सरकारले हेडवक्सका गेग्रान हटाइ फास्ट–ट्रयाकमा सुरुङ सफा गरेर मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी गरेको हो।

Logo