मुलुकभर बाढीपहिरोकाे वितण्डा, बाढीपहिरोले कहाँकहाँ के-के क्षति गर्यो त ?

मुलुकभर बाढीपहिरोकाे वितण्डा, बाढीपहिरोले कहाँकहाँ के-के क्षति गर्यो त ?

केन्द्रबिन्दु
0
Shares

केही दिनयता मुलुकभर मनसुन सक्रिय छ । पूर्वबाट प्रवेश गरेको मुनसुन अहिले देशैभर फैलदा धेरै ठाउँमा जनजीवन अस्तब्यस्त बनाएको छ ।

काठमाडौंमा बिहीबार दिनभर मौसम सफा रहे पनि मुलुकका धेरै स्थानमा वर्षा भएको छ । विशेष गरेर पश्चिमी क्षेत्रका केही स्थानमा भारी वर्षा भएको छ । अविरल वर्षापछिको बाढी र पहिरोले देशभरका अधिकांश स्थान प्रभावित भएका छन् । तराईका भूभाग डुबानमा परेका छन् । ठाउँ–ठाउँमा सडक अवरुद्ध भएका छन् । हजारौंबस्ती पहिरोको उच्च जोखिममा छन् । 

तराईका केही जिल्ला जलमग्न भएकाले सम्भावित क्षति कम गर्न सरकार उद्धारमा लागिरहेको गृह मन्त्रालयले बताएको छ । 
बिहीबार मधेस र लुम्बिनीको तराई र चुरे भई बग्ने अधिकांश ससाना नदीमा बहाव उल्लेख्य बढेको छ। केही नदीमा बहाव सतर्कता तहसम्म पुगेकाले सचेतना अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार सुदूरपश्चिमको तराई र चुरेको भूभाग भई बग्ने अधिकांश ससाना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको अनुमान छ। केहीमा बहाव सतर्कता तहसम्म पुग्न सक्ने भएकाले सर्तकता अपनाउन महाशाखाले नदी किनारमा बस्ने सबैलाई उसको आग्रह छ । 

तराईका सबै जिल्ला र गण्डकी प्रदेशमा भारी वर्षा हुने, खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिन सक्ने महाशाखाको भनाइ छ।बाजुरामा एक सय बढी बस्ती नै पहिरोको उच्च जोखिममा छन् । सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ । भीषण वर्षाका कारण आएको बाढीपहिरोले ठाउँठाउँको सडक पहिरोले पुरेको छ । प्रमुख राजमार्गहरु नै ठप्प छन् । 
सिन्धुली, दार्चुला, मोरङ, बागलुङ, प्युठान, धादिङ, दाङ, तनहुँ, नवलपरासी(पूर्व), धनकुटा, उदयपुर र सोलुखुम्बुका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।नवलपुरमा झण्डै २२ घण्टामा मात्रै पूर्वपश्चिम राजमार्ग खुल्यो । नारायणगढ–मुग्लिन सडक सन्चालनमा आउनै समय लाग्यो ।

निरन्तरको वर्षाका कारण डुम्रेदेखि लमजुङ सदरमुकाम बेंसीसहर हुँदै मनाङ सदरमुकाम चामे जोड्ने डुम्रे–बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ  ।खुदीबजारबाट गाउँपालिकातर्फ जाने सडक माथिल्लो मर्स्याङ्दी ‘ए’ को वारिपट्टी पनि पहिरो गएको छ । पहिरोले मर्स्याङ्दीको शीरचौर र मनाङको म्यार्दीखोला नजिक पहिरो गएको छ । 

म्यार्दीभीरमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । काठमाडौंको शंखरापुर नगरपालिका–२ बाउन्नेपाटीमा पहिरो झरेका कारण गएरातीबाट ठुला सवारी साधनको आवागमन प्रभावित भएको छ । अविरल वर्षासँगै घर भत्किएर पुरिँदा स्याङ्जामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सप्तकोशीमा पानीको बहाव १ लाख७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सप्तकोसीका ५६ ढोकामध्ये २४ वटा ढोका खोलिएको छ । पानीको बहाव बढेकाले तटिय क्षेत्रका स्थानीयलाई सुरक्षीत रहन आग्रह गरिएको छ । भारतले ब्यारेजका सबै ढोका नखोलेका कारण कोसी गाउँपालिका र बराहक्षेत्र नगरपालिका जोखिममा परेका छन् । सप्तकोसीले खेतीयोग्न जमिन कटान तीव्र पारेको छ । मानव बस्तीसमेत डुबानमा पर्न थालेको छ । 

पानीको उचित निकास नहुँदा प्रदेश १ को राजधानी विराटनगर बर्सेनि डुबानमा पर्ने गरेको छ । विराटनगरको पूर्वतर्फ सिंघिया र पश्चिमबाट केशलिया खोला छन् । बाढीका कारण बहाव उच्च भएर खोला ‘ओभरफ्लो’ हुँदै बस्तीमा छिर्दा स्थानीयवासीको बिचल्ली भएको छ । विराटनगर र कटहरीका लगभग १ हजार ४ सयभन्दा बढी परिवार प्रभावित बनेको प्रहरीले जनाएको छ। त्यसैगरि सुनसरीमा १ हजारभन्दा बढी व्यक्ति प्रभावित भएका छन् । 

२ सयभन्दा बढी परिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको आंकलन छ। सुनसरी खोलाको बाढीले इनरुवा–८ का २० परिवार विस्थापित भएका छन्।सुनसरीका अधिकांश र मोरङको विराटनगर महानगरपालिकामा डुवानका कारण स्कुलहरु नै बन्द गरिएका छन् । निरन्तरको वर्षाले झापाका २० बढी घर डुवानमा परेका छन् । 

कन्काइ, बिरिङ, अदुवा, घाग्रासहितका खोलामा आएको बाढी बस्तीमा प्रवेश गरेपछि स्थानीयको बिचल्ली भएको हो । 
दुई दिनदेखिको अविरल झरीले मधेस प्रदेशमा पनि बाढीको जोखिम निम्त्याएको छ । आठ जिल्लामध्ये रौतहट र सर्लाही उच्च जोखिममा छन् । रौतहटको गौर र आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

सो क्षेत्र भई बग्ने साना नदीहरूमा बाढीको जोखिम भएकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । कर्णालीका जाजरकोट, कालीकोट, दैलेख,रुकुमपश्चिम, मुगुलगायत जिल्ला पहिरोको उच्च जोखिममा छन् । त्यस्तै यहाँका केही बस्ती खोला तथा नदी किनारामा छन् । ती बस्ती बाढी तथा नदीजन्य प्रकोपको जोखिममा छन् । 

चितवनमा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेको तथ्यांक छ । बाढीबाट भरतपुर महानगरपालिका बढी प्रभावित छ। भरतपुर महानगरपालिकामा ३० हजार परिवार प्रभावित बन्ने अवस्थाछ । यस्तै माडी नगरपालिकाका चार हजार ५०० परिवार, रत्ननगरका पाँच हजार, कालिका नगरपालिकाका एक हजार ५०, खैरहनी नगरपालिकाका ३२० र राप्ती नगरपालिकाका ११ परिवार प्रभावित हुने अवस्था छ । 

यसैगरी पहिरोका कारण भरतपुर महानगरपालिकाका ३००, कालिकाका १००, राप्तीका २०० तथा इच्छाकामना गाउँपालिकाका १२५ परिवार प्रभावित बन्ने अवस्था रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । चट्याङ लागेर पछिल्लो एकसाता भित्र मात्रै सात जनाको ज्यान गएको छ। दुई जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उल्लेख गरेको छ । 
 

Logo