बाह्र छोरा तेह्र नाति, बुढाको धोक्रो काँधै माथि…

बाह्र छोरा तेह्र नाति, बुढाको धोक्रो काँधै माथि…

केन्द्रबिन्दु
28
Shares

भृकुटिमण्डप छिर्ने गेटको छेउमा एकजना वृद्ध भित्र पसेका मानिसको पदचाप नियालीरहेका भेटिन्छन् ।

पदचापसँगै उनको नजर आफ्नो पसलतर्फ उनीहरुको पाइला अघि बढ्छ कि भन्ने ठूलो अपेक्षा पनि हुन्छ । उनका आँखा यही अपेक्षामा पनि हुन्छन् । थोते दात, मनमा पीडा, अलिअलि खुशी, घरको चिन्ता अनि उनको  संघर्षमय जीवन  । आजको यो अंकमा हामी ७० वर्षीय अम्बर अधिकारीबारे चर्चा गर्नेछौं । 

रामेछाप (हाल धादिङ) घर भएका अम्बर अधिकारी १३ वर्षको उमेरमा मनभरी धेरै सपना बोकेर लागे काठमाडौं । उनी आउँदा काठमाडौंका केही ठाउँमा रोड खन्ने काम भैरहेको थियो । उनले पनि सुरु गरे त्यही काम गर्न । रोड खन्ने क्रममा उनी कहिले काभ्रे पुगे त कहिले सिन्धुपाल्चोक । उनले १७ वर्षको उमेरमा रामेछापमै विहे गरे । उनका ६ जना छोरा र एक छोरी छन् । अहिले त उनका नाती पनाती समेत भैसके ।

छोराछोरी आफै गरी खाने भइसके तर उनको जीवनको उत्तरार्ध भने डालोमा ओछ्याएको भविष्य नियाल्दै बितिरहेको छ । देश परिवर्तनशील भएता पनि उनको जीवन दिनभरी घाम होस् या पानी केही नभनी बितिरहेको छ निरन्तर । कोही मान्छेले आएर सामान किनिदियोस् भनेर आश गर्ने र घरायसी खर्च टार्नका लागि संघर्षमय उनको जीवन । सेतै फुलेका कपाल, दाँतले गिजा छाडेपछिको थोते मुख भए पनि संघर्षमय जीवन ।

कहिले सहरका विभिन्न गल्लीमा भारी बोकेर गुजारा चलाएका अम्बरले कुनै बेला घरमा घरमा सामान बेचेर घरपरिवारको गर्जो टारे । रामेछापमा जन्मथलो भएतापनि २०६७ सालमा अम्बरको सबै परिवार धादिङमा बसाइँ सर्यो । नयाँ ठाउँ नयाँ चालचलन अनि नयाँ पहिचान बनाउँदा उनीहरुलाई सुरुमा धेरैनै गाह्रो भएको थियो । विद्यालय नै नटेकेका उनलाई पढ्न रहर नभएको पनि हैन तर आर्थिक अवस्थाले सधैं गिजोलिरह्यो ।

पढ्न भन्दा पनि उनी कामतिर ध्यान दिन थाले । किताबी ज्ञान नलिएपनि व्यवहारिक ज्ञानले उनका कपाल सेतै फुले, दाँत फुस्किए, अनि गाला चाउरिए ।अहिले उनी सडकको छेउमा चना, बदाम, भट्मास र बोतलको पानी बेचेर आउने दुईचार रुपैयाँ उनको गुजाराका लागि सारथी हो । उनी तिनै सामानको साथमा दिनभरीको तातो घाम, सडकको धुलो र गाडीहरुको आवाजको साथमा दिन काटिरहेका हुन्छन् अनि भृकुटीमण्डप आउने मान्छेलाई एक्लै नियालिरहेका हुन्छन् ।

सामान खरिद र बिक्रीका लागि भृकुटीमण्डप छिर्ने हजारौंको एक प्रतिशतले मात्रै पनि सामान खरिद गरिदिए हरेक दिन उनको डालो रित्तिन्छ । सोचे जस्तो कहाँ हुन्छ र ? हरेक दिनको उनका सपना भने रित्तिन्छन् । त्यही डालो बाकेर अम्बर अर्को दिन एकाबिहानै भृकुटीमण्डलको गेटैमा भेटिन्छन् । 
‘१३ वर्षको उमेरमा आएर धेरै दुःख गरेँ । रोड खनियो ।

रोड खन्ने क्रममा कहाँ कहाँ पुगियो कहाँ कहाँ’ उनी भन्छन्, ‘त्यतिमात्र नभएर कहिले काठमाडौंका चोक चोकमा, गल्लीगल्लीमा भारी पनि बोके मैले । यस्तै काम गर्दा गर्दै । रोजगारीको लागि भारत गए । त्यहाँ पनि नभएर म भुटान समेत गएँ । त्यहाँ पनि राम्रो काम त कहाँ हुन्थ्यो र । कुल्ली काम न हो ।’
उनले हार भने कहिले मानेनन् । भुटानसम्म गएर उनले अरुको घर सफा गर्नेदेखि कुल्लीको काम सबै गरे । ती दुःखका दिन सम्झिदा अहिले पनि उनको गला अवरुद्ध हुन्छ । भन्छन्, ‘पहिले धेरै दुःख नगरेको हैन ।

कापी कलम समाउँने समयमा हातमा काम गर्ने धारिला हात–हतियार समाउन परेको थियो । काठमाडौँमा आएर भारी समेत नबोकेको होइन । अनि अर्काकोे देशमा गएर कुल्ली काम पनि नगरेको हैन । त्यो दिन सम्झिने हो भने अहिले पनि मन रोएर आउँछ । भक्कानो छुटेर आउछ । त्यो दिन अब म सम्झिन पनि चाहान्न अहिले यहीँ काममा खुशी भएको छु ।’

उनी अहिले असनमा कोठा भाडा लिएर बस्दै आएका छन् । उनकी ६५ वर्षीया श्रीमती मनमाया अधिकारी भने गाउँघरमै खेती गरेर बसिरहेकी छन् । परिवारको साथमा । उनका ६ जनामध्ये कोही बिदेश छन् त कोही नेपालमा नै गाडी चलाउँछन् । गाउँमा आमाको साथमा खेतीपातीमा पनि छोराहरुले साथ दिइरहेका छन् । उनले भने व्यापार गर्न थालेको २० वर्ष भयो । 

पहिला पहिला घर–घरमा गएर व्यापार गर्ने उनी अहिले सडकको छेउमा बसिरहेका छन् । उनी कहिलेकाही चाडबाडको बेलामा घर जान्छन् । नत्र उनको बसाइँ सँधै काठमाडौंमा हुन्छ । उनको व्यापार त सबैभन्दा बढी जाडोको समयमा हुन्छ । त्यो समय उनले १ हजारदेखि १५ सय रुपैयाँसम्म दैनिक व्यापार गर्छन् । जाडोको व्यापार सम्झेर खुशी देखिएको उनको अनुहार अहिलेको व्यापार सम्झदाँ भने एक्कासी निराश देखियो ।

अहिले दैनिक ५०० रुपैयाँसम्म मात्र व्यापार हुने उनी बताउँछन् । भन्छन्, ‘म विहान ६ बजे असनबाट हिड्दै हिड्दै यहाँ आउँछु । बाटोमा पनि बेच्दै आउँछु । अनि यहाँ आएर बस्छु दिनभरी । जाँडोको समयमा बदाम, चना, भट्मास बढीनै विक्री हुन्छ । गर्मीको समयमा हो कम हुने । पानी चाहिँ पहिले भन्दा बढीनै हुन्छ । पहिले दिनमा १ हजार रुपैयाँदेखि १५ सय रुपैयाँसम्म हुन्थ्यो भने अहिले त दिनमा ४-५ सय मात्र हुन्छ ।’ 

उनी दिनभरी त्यहाँ बसिरहन्छन् भृकुटिमण्डपमा आउँने मान्छेको हुल देख्छन् अनि मनमा अनेकौँ कुरा खेलाउँन् । कसैले आएर गफ गर्न खोज्यो भने खुलेर गफ पनि गर्छन् । तर, उनको उमेर ७० वर्षको भएता पनि अझै वृद्ध भत्ता नपाएकोमा गुनासो गर्छन् । भन्छन्, ‘मेरी श्रीमती अहिले ६५ वर्षकी भई म ७० वर्षको भए तर पनि भत्ता पाएका छैनौँ । अहिले त भत्ता खान पनि गाह्रो रहेछ । ७५ वर्ष हुनुपर्ने रहेछ । सरकारले हामीजस्ता वृद्धलाई छिटै भत्ता दिने व्यवस्था गरिदिए राम्रो हुने थियो ।’

आफ्नो कमाइमा बाँचेका अम्बर वृद्धभत्ताको कुराले भन्दा आफ्ना पाखुरा अझैं चल्न सक्ने अवस्थामा रहेकाले बढी खुशी देखिए । दाँत फुक्लिएर थोते बनेको मुख खोलेर खुशीको हाँसो हाँस्दै उनले भने, ‘मलाइ किन भत्ता चाँहियो है, मेरो त पाखुरामा अझै दम छ । गरी खान सक्छु नि ।’ 

Logo