सिटीको जितमा हालान्डको निर्णायक गोल

सिटीको जितमा हालान्डको निर्णायक गोल

केन्द्रबिन्दु
0
Shares

एर्लिङ ब्राउट हालान्डको निर्णायक गोल गरेपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा कठिन जित दर्ता गरेको छ ।

सिटीले घरेलु टोली क्रिस्टल प्यालेसमाथि १–० गोल अन्तरमा झिनो जित निकालेको हो।  यो जितसँगै डिफेन्डिङ च्याम्पियन सिटीले शीर्षस्थानको आर्सनलमाथि दवाव बढाएको छ। सेलह्रस्ट पार्क लन्डनमा शनिबार राति सिटीले खेलको सुरूदेखि नै घरेलु टोलीलाई दवावमा राखे पनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफमा पेनाल्टीमार्फत सिटीले अग्रा लिएको हो।

खेलको ७८औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई १–० को जित दिलाए। इल्केए गुन्डोगानलाई माइकल ओलिसले फउल गरेपछि रेफ्रीले पेनाल्टी प्रदान गर्दा हालान्ड चुकेनन्। प्रिमियर लिगमा हालान्डको यो २६ औं खेलबाट २८औं गोल हो। उनले ५ असिस्टसमेत दिएका छन्।

यो जितसँगै सिटीले शीर्षस्थानको आर्सनलसँग अंक दुरी २ मा छोट्याएको छ। दोस्रो स्थानमा रहेको सिटीको २६ खेलबाट ६१ अंक हुँदा एक खेल कम खेलेको आर्सनलको ६३ अंक छ।

यता पराजित क्रिस्टल प्यालेस २७ अंक जोडेर तालिकाको १२औं स्थानमा छ।

Logo