अफ्रिका कप अफ नेशन्समा एंगोला विजयी

अफ्रिका कप अफ नेशन्समा एंगोला विजयी

केन्द्रबिन्दु
0
Shares

अफ्रिका कप अफ नेशन्समा एंगोला विजयी भएको छ। शनिबार राति भएको खेलमा एंगोलोले मौरी टेनियालाई ३–२ गोल अन्तरले पराजित गर्दै समूह डी मा शीर्ष स्थानमा पुग्दै अन्तिम १६ नजिक पुगेको छ।

यही समूहमा रहेको बुर्किनाफासो र एल्जेरियाले बराबरी खेलेका थिए। ३० औं मिनेटमा एंगोलाले अग्रता लिएको थियो। ज्याकिन्टन डालाले गोल गर्दै अग्रता दिलाएका थिए। ४३ औं मिनेटमा मौरीटेनियाका सिदी अमारले बराबरी गोल फर्काए।

५० औं मिनेटमा ज्याक्टिन डालाले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता २–१ मा लगेका थिए। ५३ औं मिनेटमा डेभी मिगुएलले गोल गरेपछि अग्रता ३–१ पुगेको थियो।
तर, ५८ औं मिनेटमा अबुबकारी कोएटाले मौरीटेनियाका लागि गोल गर्दै अन्तर ३–२ मा झारे पनि हार टार्न पर्याप्त भएन। शनिबार नै भएको खेलमा अल्जेरिया र र बुर्किना फासोले २–२ गोलको बराबरी खेलेका थिए।

बुर्किना फासोले मोहमद कोन्टेको गोलको मद्दतले पहिलो हाफको अतिरिक्त समयमा अग्रता लिएको थियो। ५१ औं मिनेटमा अल्जेरियाका लागि बगदान बउनेदजाहले गोल गर्दै खेल एक एकको बराबरीमा ल्याएका थिए।

७१ औं मिनेटमा पेनाल्टीमार्फत बेट्रान्ड टारोइले गोल गर्दै बुर्किनाफासोलाई २–१ ले अघि बढाए। दोस्रो हाफको अतिरिक्त पाँचौं मिनेटमा बगदादले व्यक्तिगत दोस्रो गोल गरेपछि अन्ततः दुवै टिमले २–२ गोलको बराबरी खेल्दै एक एक अंकमा चित्त बुझाए।

यस्तै, समूह ई मा ट्युनेसिया र मालीले पनि एक एक गोलको बराबरी खेलेका छन्। लासिन फेन्टा सिनायोकोले १० औं मिनेटमा गोल गर्दै मालीलाई अग्रता दिलाएका थिए। तर, २० औं मिनेटमा ट्युनेसियाका लागि हाम्जा रफियाले गोल गरेपछि खेल बराबरीमा आयो। त्यसपछि थप गोल नहुँदो दुवै टिमले एक एक अंक लिए। समूह ई मा माली ४ अंकका साथ शीर्ष स्थानमा रहँदा ट्युनेसिया १ अंकका साथ तेस्रो स्थानमा रहेको छ।

Logo