न्युजिल्याण्डविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

न्युजिल्याण्डविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

केन्द्रबिन्दु
0
Shares

आईसीसी यू-१९ विश्वकप २०२४ को पहिलो खेलमा नेपालले न्युजिल्याण्डविरुद्ध फिल्डिङ गर्ने भएको छ । बफेलो पार्क इस्ट लन्डनमा न्युजिल्यान्डसँग टस हारेपछि नेपालले फिल्डिङको निम्तो पाएको हो । यु-१९ विश्वकपमा नेपालले ८ वर्षपछि न्युजिल्‍यान्डसँग खेल्न लागेको हो।

यू–१९ विश्वकपमा नेपाल र न्युजिल्यान्डबीचको यो तेस्रो भेट हो । इतिहास हेर्ने हो भने न्युजिल्याण्ड नेपालका लागि ‘फेभरेट’ टोली हो । यसअघि नेपाल र न्युजिल्याण्ड विश्वकपमा दुई पटक आमनेसामने भएकामा दुवै पटक नेपालको पक्षमा नतिजा आएको छ ।

नेपाल र न्युजिल्यान्डबीच पहिलो खेल सन् २००६ को विश्वकपमा भएको थियो । श्रीलंकामा भएको सो विश्वकपमा नेपाल र न्युजिल्यान्डको युवा टिमले प्लेट च्याम्पियनको फाइनलमा प्रतिस्पर्धा गरेका थिए । समूह चरणमा पराजित हुने टिमबीच हुने यो फाइनलमा नेपालले जित निकालेर इतिहास नै रचेको थियो । कनिष्क चौगाइँको कप्तानीमा रहेको नेपालले मार्क इलिसनको कप्तानीमा रहेको न्युजिल्याण्डलाई १ विकेटले हराएको थियो। न्युजिल्यान्डले दिएको २०५ रनको लक्ष्य नेपालले अन्तिम २ बल बाँकी छँदा ९ विकेटको क्षतिमा पूरा गरेको थियो ।

त्यसको १० वर्षपछि नेपाल र न्युजिल्यान्डको युवा टिमबीच सन् २०१६ मा बंगलादेशमा आयोजना भएको यू–१९ विश्वकपको समूह चरणमा प्रतिस्पर्धा भएको थियो । सो खेलमा पनि राजु रिजालको कप्तानीमा रहेको नेपालले जोस फिन्नीको कप्तानीमा रहेको न्युजिल्याण्डलाई ३२ रनले पराजित गर्न सफल भएको थियो । पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २३८ रन जोडेको थियो । २३९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४७.१ ओभरमा २०६ रनमै अलआउट भएको थियो । त्यसबेला खेलेका कुशल भुर्तेल, आरिफ शेख र दीपेन्द्रसिंह ऐरी हाल राष्ट्रिय टोलीका सदस्य छन्।

संयोग नै मान्नुपर्छ, अब आठ वर्षपछि नेपालले पुनः न्युजिल्यान्डसँग नै प्रतिस्पर्धा गर्दैछ । के योपटक पनि नेपालको अपराजित यात्रा कायम राख्न सक्ला त भन्ने आम नेपाली क्रिकेटप्रेमीको चासोको विषय बनेको छ ।

Logo