यू–१९ विश्वकपको पहिलो खेलमा नेपाल पराजित

यू–१९ विश्वकपको पहिलो खेलमा नेपाल पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडाैँ- आइसीसी यू १९ एक दिवसीय क्रिकेटमा नेपाल पहिलो खेलमा पराजित भएको छ। दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा समूह डीमा रहेको नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको हो।

न्युजिल्याण्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर २३८ रनमात्रै बनाउन सक्यो। नेपालका लागि ओपनर अर्जुन कुमालले ९० रनको पारि खेल्दै जितको केही आशा देखाए पनि अन्य ब्याटर चल्न नसक्दा भारत पहिलो पटक उमेर समूहमा न्युजिल्याण्डसँग पराजित भएको हो। यसअघि न्युजिल्याण्डविरुद्ध नेपालको नतिजा राम्रो थियो।

ओपनिङ आएका दीपक वोहोरा आउट भएपछि नेपालको विकेट पतनका श्रृंखला सुरु भएको थियो। त्यसपछि क्रिजमा आएका आकाश त्रिपाठी पनि चल्न सकेनन्। उनी व्यक्तिगत २ रन बनाएर आउट भए।

त्यसपछि क्रिजमा आएका कप्तान देव खनाल र ओपनर अर्जुन कुमालले ६२ बलमा ५९ रनको साझेदारी गर्दै नेपालको पारि सम्हाल्ने प्रयास गरेका थिए। कप्तान खनाल ३४ बलमा ३६ रन बनाएर आउट भए। उनले १ छक्का र ५ चौका प्रहार गरेका थिए।

लगत्तै विकेटकिपर ब्याटर उत्तम मगर खाता खोल्न सकेनन् भने भर गरिएका ब्याटर गुलसन झा २ रन बनाएर आउट भए। अर्जुन कुमाल र सुवास भण्डारीले ४१ बलमा ४३ रनको साझेदारी गर्दै पारि अघि बढाए।

तर, आठौं विकेटको रुपमा अर्जुन कुमाल ९० रन बनाएर आउट भएपछि नेपालको आशा समाप्त भएको थियो। कुमाल विश्वकपमा शतक बनाउन असफल भए। उनले १०४ बल फेस गर्दा १२ चौका प्रहार गरेका थिए।

टिमको स्कोर २०१ रन पुग्दा आकाश चन्द नवौं विकेटको रुपमा १४ रन बनाएर आउट भएका थिए। अन्तिममा सुवास भण्डारी र तिलक भण्डारीले नटआउट पारि खेले पनि हार टार्न पर्याप्त भएन। सुवास ३३ तथा तिलक १७ रनमा नटआउट रहेका थिए।

न्युजिल्याण्डका लागि मेसन कलार्कले ३ विकेट इवाल्ड श्रेडर ओस्कार र ओस्कार ज्याक्सनले दुई दुई विकेट लिए। टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३०२ रनको बलियो योगफल तयार पारेको थियो।

न्युजिल्याण्डका लागि स्नेहिथ रेड्डीले नटआउट १४७ रनको शतकीय पारि खेल्दा ओसकार ज्याकसनले ७५ रन बनाए। यस्तै टम जोन्सले ३३ रन जोड्दा एलेक्स थम्पसनले १३ रन बनाएका थिए।

नेपालका सुवास भण्डारीले ३ विकेट लिँदा गुलसन झाले २ विकेट हात पारे। यस्तै, दीपेश कँडेल, आकाश त्रिपाठी र तिलक भण्डारीले एक एक विकेट लिए।

Logo